post-slider post-slider

रामबहादुर बम्जन कारागार चलान

Image
A A

काठमाडौं- ‘लिटल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन्।

बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बिहीबार थुनछेक बहसपछि बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालतको आदेशपछि बम्जनलाई महोत्तरीको जलेश्वरस्थित कारागार पठाइएको छ।

उनलाई प्रहरीले बुधबार रातिमात्रै काठमाडौंंबाट ल्याएर बिहीबार सर्लाही जिल्ला अदालतमा पेस गरेको थियो।

बम्जनविरुद्ध सर्लाहीको लालबन्दी नगरपालिका – १२ पत्थरकोटस्थित स्याङ्बो डाँडामा रहेको आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो।

ती बालिकालाई २०७३ साउन २० गते राति विभिन्न प्रलोभन देखाएर जबरजस्ती करणी गरी यैन सन्तुष्टि लिएको र पीडितलाई डर, धाक, धम्की देखाइएको मुद्दामा उल्लेख छ।

घटना भएको बेला बालिका १५ वर्षको मात्रै थिइन्।

उनी १८ वर्ष भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

सर्लाही जिल्ला अदालतले सोही दिन बम्जनलाई पक्राउ गर्न अनुमति दिएको थियो।

बम्जन फरार रहेपछि सरकारी वकिलको कार्यालयले २०७७ असार १८ गते सर्लाही जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

उनीविरुद्ध १२ देखि १४ वर्षसम्म सजायको माग दाबीसहित अभियोग दर्ता भएको छ।

विभिन्न जिल्लाहरुमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार साँझ काठमाडौंको बुढानिलकण्ठस्थित हातिगौडाबाट पक्राउ गरेको थियो।

बम्जनलाई कडा सुरक्षाकाबीच सर्लाही ल्याइएको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी उनलाई बिमानबाट ल्याउने तयारी गरिए पनि प्रतिकुल मौसमका कारण सडकमार्गबाटै सर्लाही ल्याइएको थियो।

बम्जन पत्थरकोट स्याङ्बो डाँडास्थित आश्रममा केही वर्ष बसेका थिए।

समातिए ‘लिटल बुद्ध’ बम्जन

बम्जनको घरबाट ३ करोड रूपैयाँ बरामद

 

Tags: