post-slider post-slider

टि–२० विश्वकप छनोट : पहिलो दिन नेपाल र सिंगापुर खेल्दै

Image
A A

काठमाडौं- आइसिसी टि–२० विश्वकप छनोट फाइनल प्रतियोगिता सोमबारबदेखि काठमाडौंमा सुरू हुँदैछ।

आगामी २०२४ मा हुने टि–२० विश्वकपका लागि एसिया क्षेत्रबाट छनोट प्रतियोगिता काठमाडौंमा हुन लागेको हो।

प्रतियोगितामा घरेलु टिम नेपालसहित एसियाका ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।

पहिलो दिन कुल चार खेल हुनेछ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरू हुनेछ।

समूह ‘ए’ अन्तर्गत नै ओमान र मलेसियाबीचको खेल त्रिवि मैदानमै दिउँसो सवा १ बजे सुरू हुनेछ।

यस्तै समूह ‘बी’ अन्तर्गत युएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा सुरू हुनेछ। 

समूह ‘बी’ कै हङकङ र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा हुनेछ।

११ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

सेमिफाइनलमा पुग्ने दुवै टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपका लागि छनोट हुनेछन्।

दोस्रोपटक टि–२० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रिइरहेको नेपाललाई यसपालि घरेलु मैदान र घरेलु दर्शकको साथ हुनेछ।

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा टि–२० विश्वकपमा भाग लिएको थियो।

त्यसपछिका तीन संस्करणमा भने नेपाल छनोट हुनसकेको छैन।

यसपटक घरेलु मैदान र घरेलु दर्शकको साथ लिएर नेपाली टिमलाई शीर्ष दुईमा पुग्ने राम्रो अवसर छ।

सन् २०२४ मा हुने टि–२० विश्वकपमा २० टिम सहभागी हुँदैछन्।

 

Tags: