post-slider post-slider

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस काठमाडौंमा

Image
A A

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणका लागि काठमाडौं पुगेका छन्।

चारदिने नेपाल भ्रमणका लागि उनी राति १ बजे काठमाडौं आइपुगेका हुन्।

गुटरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसपछि गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने छन्।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारयाणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भेटवार्तापछि उनको ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलकोन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गर्नेछन्।

महासचिव गुटरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसका लागि संघीय संसद सचिवालयले तयारी अगाडि बढाएको छ।

सदनको संयुक्त बैठकलाई सम्बोधनको व्यवस्था गर्न सरकारले सचिवालयलाई पत्राचार गरेको छ।

महासचिव गुटरेसले मंगलबार अपराह्न बस्ने संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सचिवालयले सम्बोधनका क्रममा उपस्थितिका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, संवैधानिक अङ्गका प्रमुखलाई आमन्त्रण गर्दैछ।

गुटरेसको भ्रमणलाई मध्यनजर गरी संसदको चालु अधिवेशनसमेत लम्ब्याइएको थियो।

राष्ट्रसंघका महासचिवले संसदमा सम्बोधन गर्न लागेको यो पहिलोपटक हो। यसअघि तत्कालीन महासचिव बान कि मुनले संसद भवनको बैठक कक्षबाहिरको हलमा सांसदहरूलाई सम्बोधन गरेका थिए।

त्यस्तै २०७१ साउनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन व्यवस्थापिका संसदमा सम्बोधन गरेका थिए।

२०७६ मा म्यानमारकी नेतृ आङ सान सुचीले पनि सांसदहरूलाई सम्बोधन गरेकी थिइन्। तर, त्यो सम्बोधन संसद भवनको ल्होत्से हलमा भएको थियो।

भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपुर्ण आधार शिविर र लुम्बिनी जानेछन्।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि उनी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा नेपाल भ्रमणमा आएका महासचिव गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायतका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यो भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

 

Tags: