post-slider post-slider

‘गिरीबन्धु टी–स्टेटको भ्रष्टाचार ललिता निवासभन्दा खतरनाक छ, छानबिन होस्’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले झापाको गिरीबन्धु टी–स्टेटको जग्गामा भ्रष्टाचार भएको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै खतिवडाले गिरीबन्धु टी–स्टेट जग्गा प्रकरण ललिता निवासभन्दा खतरनाक भएको भन्दै छानबिन गर्न माग गरेका हुन्।

‘पाँच सयबिघा रोपनीमा कन्भर्ट गर्दा झन्डै ६५ सय रोपनी जग्गा कौडीको भाउमा दिएर देशको सम्पत्ति ब्रम्हलुट गर्ने काम भएको छ। यसमा सरकार चनाखो हुनुपर्छ। २०११ सालमा जग्गा हदबन्दी कायम गरिँदा उद्योधन्दाका निम्ति कम्पनीअन्तर्गत राख्न छुट दिने नीति सरकारले लिएको थियो। २०२९ सालमा गिरीबन्धु टी–स्टेटका नाउँमा पाँच सयबिघा जग्गा कायम भएको थियो। उक्त जग्गालाई सहरीकरणको नाउँमा कम मूल्यमा बेच्ने र एउटा डाँडापाखामा लगेर कम मूल्यको जग्गा सट्टाभर्ना गर्ने काम भएको छ,’ खतिवडाले भने।

उनले २०७८ सालमा तत्कालीन सरकारले भूमिसम्बन्धी आठौं संशोधन गरेर सट्टाभर्ना गर्ने निर्णय गरेको जिकिर गरे।

‘२०७८ सालमा माघ २६ गते तत्कालीन भूमिसुधार मन्त्रालयबाट प्रधानमन्त्रीको नेतृत्वमा भूमिसम्बन्धी आठौं संशोधन गरेर दफा ११ (२) लाई सट्टाभर्ना निर्णय गरियो,’ खतिवडाले भने,‘माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गरियो। २०२९ पुस ११ गते राजपत्रमा पाँच सयबिघा भएको जग्गालाई हाल ३४२ बिघा कायम गरेर १५७ बिघा अन्यत्र लगेर कौडीको भाउमा बेचेर केही व्यक्तिको लाभका लागि यो काम भयो। ललिता निवासभन्दा ठूलो भ्रष्टाचार गर्ने प्रपञ्च गरिएको छ। यसमा छानबिन गर्नुपर्छ।’

सत्तापक्षकै अर्का सांसद मेटमणि चौधरीले पनि गिरीबन्धु टी–स्टेट जग्गामा भ्रष्टाचार भएको भन्दै छानबिनका लागि सरकारसँग माग गरेका छन्।

 

Tags: