post-slider post-slider

केन्द्रको गठबन्धनले प्रदेशहरूमा हलचल, मन्त्रीहरू परे बर्खास्तमा

Image
A A

काठमाडौं, फागुन २२ - केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्रसहित चार राजनीतिक दलले गठबन्धन गरेसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसमेत बनेर गठबन्धन बनाएपछि प्रदेशहरूमा हलचल मच्चिएको हो। कांग्रेससँगको गठबन्धन तोडेसँगै कतै माओवादीका मन्त्री बर्खास्तमा परेका छन् भने माओवादीले कांग्रेसका मन्त्री बर्खास्त गरेको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। 

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन्। 

केन्द्रीय सरकारमा आएको दलीय समीकरण परिवर्तनसँगै प्रादेशिक सरकारमा समेत प्रभाव परेको छ।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्रीले दुई माओवादीका मन्त्री बर्खास्त गरेका थिए।

कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई बर्खास्त गरेका हुन्।
 यता, कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन्।

नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासँग राजीनामा पत्र बुझाएका हुन्।

शर्मा माओवाादी केन्द्रबाट निर्वाचित सांसद हुन्। सोमबार केन्द्रको कांग्रेस-माओवादी गठबन्धन टुटेपछि कर्णालीमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।

कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले पदबाट राजीनामा दिएका हुन्।

यता कोसी प्रदेशमा अन्योल बढेको छ। नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागिरहेको छ।

माओवादीसमेतको समर्थन पाएका कार्की माओवादीले नै गठबन्धन तोडेपछि समस्यामा परेका छन्। 

Tags: