post-slider post-slider

राष्ट्रियसभाका २० सांसद बिदाको नजिक

Image
A A

काठमाडौं- राष्ट्रियसभाका २० सांसद बिदा हुने भएका छन्। ६ वर्षको पदावधि सकिनै लागेकाले उनीहरू राष्ट्रियसभाबाट बिदा हुने भएका हुन्।

राष्ट्रियसभाका २० सांसदहरूको कार्यकाल आगामी फागुन १९ गते सकिँदैछ।

२० सांसदहरूको पद रिक्त हुन लागेपछि विभिन्न राजनीतिक दलमा नयाँ सदस्य पठाउन चहलपहल सुरू भएको छ।

राष्ट्रियसभामा जानका लागि नेताहरूले आ–आफ्ना पार्टीका शीर्ष नेताहरूसँग सम्बन्ध अझ बढाउन थालेका छन्।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम भएका २० सांसदहरू बिदा हुन लागेका छन्।

निर्वाचन आयोगले सांसदहरूको निर्वाचनका लागि आन्तरिक तयारी सुरू गरेको छ।

राष्ट्रियसभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ। तीमध्ये संविधान जारी हुँदा बखत पहिलोपटक सदस्यहरूको पदावधि गोलाप्रथाबाट गरिएको थियो।

अब बिदाइ हुने सूचीमा रहेका सांसदको ६ वर्षको पदावधि सकिन लागेको हो।

यसअघि दुई वर्ष र चार वर्षको पदावधि सकिएका सांसद बिदाइ भइसकेको छ।

६ वर्षे पदावधि हुनेमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि छन्। उनी गण्डकी प्रदेसबाट पुरुष समूहबाट प्रतिनिधित्व गर्छन्।

यसैगरी नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेसबाट अनिता देवकोटा महिला समूहबाट प्रतिनिधित्व गर्छिन्।

यस्तै कांग्रेसका मधेस प्रदेसबाट जितेन्द्रनारायण देव (पुरुष), गण्डकीबाट प्रकाश पन्थ (अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय), कोसी प्रदेसबाट रमेशजङ्ग रायमाझी (पुरुष) पनि बिदा हुने भएका छन्।

नेकपा एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेसबाट इन्दु कडरिया (महिला) समूहबाट, लुम्बिनीबाट खिमलाल भट्टराई (पुरुष), गण्डकीबाट दीपा गुरुङ (महिला), बागमतीबाट दिलकुमारी रावल थापा (पार्वती) (महिला), क(र्णालीबाट नरपति लुवार (पुरुष–दलित समूह), कर्णालीबाट भैरवसुन्दर श्रेष्ठ (अन्य), बागमतीबाट रामचन्द्र राई (पुरुष–अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय) बाट प्रतिनिधित्व गर्ने सदस्यहरू बिदा हुने भएका छन्।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट सुदूरपश्चिम प्रदेसबाट महेशकुमार महरा (अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय), कोसी प्रदेसबाट बिना पोखरेल (महिला), सुदूरपश्चिमबाट हरिराम चौधरी (पुरुष) समूहबाट प्रतिनिधित्व गर्ने सांसद छन्।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट कर्णाली प्रदेसबाट नन्दा चपाई (महिला) र बागमती प्रदेसका सिंगबहादुर विश्वकर्मा (दलित), जसपाका मधेस प्रदेसबाट प्रमिला कुमारी (महिला) समूहबाट प्रतिनिधित्व गर्छन्।

यसैगरी स्वतन्त्र सांसद बागमती प्रदेसबाट खिमलाल देवकोटा (पुरुष) समूहबाट बिदाको नजिक छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित भएकी विमला राई पौड्यालको पनि पदावधि  सकिँदैछ।

सांसद पौड्यालको रिक्त पदमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद मनोनित गर्नेछन्।

रिक्त हुन लागेका राष्ट्रियसभा सदस्यको स्थान पूर्ति गर्न निर्वाचन आयोगले चुनावको तयारी थालिसकेको छ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघमा चुनाव गर्ने तयारी गरिरहेको छ। 

राष्ट्रियसभा सदस्यको पद रिक्त हुनु एक महिनाअगावै चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

 

Tags: