post-slider post-slider

रौतहटमा ७०० प्रहरी परिचालन, कर्फ्यूमै मूर्ति सेलाउने तयारी

Image
A A

रौतहट, फागुन ६ - रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटक-पटक दुई समुदायबीच विवाद हुँदै आएपछि  अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो। 

बाटो खुलाउने प्रहरीको २४ घन्टा बढीको प्रयास असफल हुँदै शनिबार दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन्।  

घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो। झडपमा दुबै पक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या यकिन नभएको जनाएको छ। 

शनिबार साँझ ५ बजेदेखि लागू हुने गरी घिउरा गाउँपूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ।

घिउरा गाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर वर्सेनी सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ सुरक्षित राखिएको प्रहरीले जनाएको छ। तर, सरस्वतीको मूर्ति तथा डिजे बाजामा तोडफोड र क्षति पुर्‍याइएको हिन्दु पक्षले गुनासो गर्दै आएको छ। 

उक्त क्षेत्रका नेतृत्व गरिरहेका संघीय संसद किरण साहको पहलमा सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुबै पक्षलाई राखेर  मूर्ति सेलाउन दिने शनिबार सहमति भएको थियो। सहमतिविपरीत मुस्लिम समुदायका केही युवाहरूले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआइजी दीपेन्द्र शाह घटनास्थल पुगेका थिए।

कर्फ्यू आदेश जारी भएपछि त्यहाँको अवस्था सामान्य बनेको छ। दुबै समुदायका मानिस आ-आफ्नो घरभित्र बसिरहेका छन्। हाल कर्फ्यूभित्रै सरस्वती माताको मूर्ति सेलाउने योजना प्रहरीको रहेको छ। मूर्ति सेलाउने क्रममा कुनै अप्रिय नहोस् भनेर घिउरा गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

जिल्लाको विभिन्न युनिटदेखि प्रदेशबाट थप आएका गरी नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी सात सय जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। 

ईशनाथ- ७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा विवाद सुरू भएसँगै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ स्थलगत खटिएका छन्। दुबै समुदायलाई सम्झाइ-बुझाइ बिग्रिएको भाइचारा बनाउन सके ठूलो उपलब्धी हुने एसपी श्रेष्ठको भनाइ छ। 

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेल २४ घन्टादेखि ईशनाथ केन्द्रित भएका छन्। उनले दुबै समुदायलाई मिलाउन आफूहरू प्रयासरत् रहेको बताएका छन्।

संघीय सांसद किरण साहले शनिबार भएको दुई पक्षीय सहमति तोड्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्। उनले ट्याक्टर र डिजेमा भएको तोडफोडको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन्।

विगत लामो समयदेखि संसदीय निर्वाचन क्षेत्र-२ अन्तर्गत हिन्दु समुदायले मनाउने पर्वमाथि पटक-पटक अर्को समुदायबाट हस्तक्षेपको प्रयास हुँदै आएको छ।

सरस्वती पूजा, दुर्गा पूजा, महाबिरी झण्डीमा विभिन्न बाधा अवरोध पुर्‍याइँदै आएको स्थानीयले बताएका छन्।

Tags: