post-slider post-slider

आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

Image

बर्दिवास, चैत १५- नगरपालिकाले गृहणीहरूलाई बाटेको धुप बनाउने तालिम प्रदान गरेपछि उनीहरू आयआर्जनसँगै आत्मनिर्भर बन्ने योजनामा जुटेका छन्।

महोत्तरीको बर्दिवास नगरपालिकाबाट तालिम प्राप्त महिलाहरू समूह बनाएर स्वाबलम्बन बन्ने योजनामा जुटेका हुन्। 

नगरमा नै पहिलो पटक वडा नं. १ बाट बुबारी बचत तथा ऋण समूहका गृहणीहरूले तालिम लिएका छन्। 

बिहान-बेलुकाको समय प्रयोग गरेर मात्र पनि नगर क्षेत्रको बजारलाई गृहणीहरूले उत्पादन गरेको धुपले आत्मनिर्भर बनाउन सकिने ऋण समूहकी सञ्चालक शान्ता काफ्लेले बताइन्। 

'नगरले आयातित धुपलाई रोक्ने हो भने नगरभरिका गृहणीहरूले उत्पादन गरेको धुप नै बजारमा काफी हुन्छ,' उनले भनिन्, 'यसो भयो भने घरमा नै चुलोचौका गर्ने महिलाहरूको गतिलो आम्दानीको स्रोत बन्न सक्छ।'

धुपको तालिम लिएपछि समूहका महिलाहरू उत्साहित देखिएका छन।  ऋण समूहकी अध्यक्ष रिता अधिकारीले नगरले दिएको यो तालिम निकै फलदायी रहेको प्रतिक्रिया दिइन्। उनले घरायसी काममा व्यस्त हुने महिलाहरूले बिहान-बेलुकाको समयलाई नगरले उपयोग गर्नुपर्ने बताउँदै आयातित सिन्के धुपलाई बिस्थापन गरेर महिलाहरूले उत्पादन गरेको धुपलाई प्रयोग गर्नुपर्ने नीति बनाउन नगरसँग आग्रह गरिन्। 

सिन्के धुपको तुलनामा बाटेको धुप वास्नादार हुने र स्वास्थ्यका दृष्टिकोणले समेत फाइदा पुग्ने बताउँदै नगरले गृहणीहरूलाई आयआर्जनसँग जोडनुपर्ने गृहणी समूहले जोड दिएका छन्। 

यता नगरले पनि महिलाहरूको भावनालाई आत्मासाथ गर्दै महिला उद्यमी बनाउने योजना प्रत्येक वडासम्म लैजाने योजना बनाएको छ। 

पहिलो चरणमा वडा नं. १ बाट सुरू गरेको बताउँदै नगरले प्रत्येक वडाका महिलाहरूलाई सिपसँग जोड्ने योजना बनाएको जनाएको छ। 

Tags: