सुरेशको छलाङ्ग : सैलुनदेखि कांग्रेस प्रदेस समिति सदस्यसम्म
जनकपुरधाम - युवा थिए। काम गर्ने जाँगर र हुनर पनि थियो। आफ्नै गाउँठाउँमा बसेर आफूसँग भएको उद्यम सदुपयोग गरेर परिवार र समाजका लागि केही राम्रो गर्ने हुटहुटी पनि थियो, उनीसँग।
धेरै प्रयास गरे। तर, सकेनन्। अनि उनी हुइँकिए रोजगारका लागि विदेशतिर। ती युवा थिए, धनुषा सबैला नगरपालिका–११ का सुरेश ठाकुर।
एसएलसीसम्म पढाइ गरेका सुरेश नाइ समुदायका हुन्। विद्यालय तहसम्म अध्ययन गरेका उनलाई अन्य पेसा र रोजगारले आकर्षण गरेन। मुग्ध गर्यो त आफ्नै पारम्परिक पेसाले।
सालिन तथा साधारण रहनसहन मन पराउने सुरेशसँग आफ्नो पारम्परिक पेसाको राम्रै हुनर छ। सरल लबजको शैलीबाट आफ्ना ग्राहकलाई आकर्षित गर्न सक्ने क्षमता बोकेका उनको कपाल काट्ने कौशल पनि उत्तिक्कै छ।
सुरेश सन् २००० मा रोजगारका लागि विदेशतिर लागे। उता जाने रहर थिएन, बाध्यता थियो। गाउँमै रोजगार गरेर समाजलाई त के परिवार चलाउन पनि कठिन भएको उनलाई लाग्यो।
पारिवारिक परिवेश अनि बाध्यताका कारण रोजगारका लागि विदेशिएका सुरेश १७ वर्षसम्म कतार र इराकमा बसे। विदेश बस्दा पनि सुरेशले आफ्नो पुर्खयौली पेसालाई छाडेनन्। त्यहाँ पनि उनले नाईकै काम गरे।
मन चाहिँ मडारिरहन्थ्यो नेपालतिर। गाउँतिर। गाउँठाउँ र देशको मायालाई धेरै दिनसम्म उनको मनले थाम्न सकेन।
अनि सन् २०१७ मा सुरेश स्वदेश फर्किए। हुनर त छँदै थियो। विदेशमा रोजगार गरेर केही पैसा पनि कमाइसकेका थिए।
विदेशबाट गाउँ फर्किएपछि परिवार चलाउन केही नकेही त गर्नु थियो नै। कैयौं अवसरका लागि सुरेशले चिन्तन मनन् गरे। मन्थन गरे। विदेशमा आर्जन गरेको पैसाले व्यापार गर्न कतिपयले उनलाई सुझाव दियो।
सुरेशले सबैको कुरा सुने। तर, अन्त्यमा निर्णय भने आफ्नै गरे। त्यो निर्णय थियो– आफ्नै पेसालाई निरन्तरता दिने।
गाउँबाट १०–१५ किलोमिटर पश्चिम जनकपुरधाममा सैलुन खोलेर व्यवसाय सञ्चालन गर्ने निक्र्यौलमा सुरेश पुगे।
जनकपुरधाम–४ स्थित राम चोकमा सैलुनका लागि भाडामा उनले एउटा कोठा पाए। सुरेशले त्यही कोठामा सुविधा सम्पन्न सैलुन खोले। उनको त्यो सैलुन जनकपुरधामको पहिलो वातानुकुलित सैलुन थियो।
सुरेशको व्यवहार र कामबाट प्रभावित हुन थालेपछि कपाल र दाह्री कटाउन आउनेहरूको संख्या बढ्न थाल्यो। सिडिओ, एसपीका साथै सरकारी निकायका उच्च्पदस्थ अधिकारी र राजनीतिकर्मीहरू उनको सैलुनमा पुग्न थाले।
सुरेशको काम गर्ने हुनर र व्यवहारका कारण प्रभावित नहुने सायदै कोही छन्, जनकपुरधाममा।
अहिले पनि राम चोकको यो सैलुनबाट उनले राम्रै आम्दानी गरिरहेका छन्। पुर्खयौली पेसालाई निरन्तरता दिइरहेका छन्।
तर, सुरेशको मन यतिकैमा अडिएको छैन। समाजका लागि केही राम्रो गर्ने हुटहुटीका कारण उनको पाइला समयक्रमसँगै राजनीतितर्फ डोरियो।
र, सैलुन सञ्चालन गरिरहँदै सुरेश विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम नेपालमा आवद्ध भए।
त्यही पार्टीमा आवद्ध भएर उनी पिछडा वर्ग महासंघ (ओबिसी) धनुषाका अध्यक्ष पनि बने।
संघीयता कार्यान्वयनमा आइसकेपछि २०७४ सालमा पहिलोपटक स्थानीय तह निर्वाचनको चहलपल सुरू भइसकेको थियो। लामो अन्तरालपछि हुन लागेको स्थानीय तह निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिसकेका थिए।
उम्मेदवारहरू प्रचारप्रसारलाई तीव्रता दिन व्यस्त थिए। तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका तर्फबाट मेयरका प्रत्याशी बनेका मनोजकुमार साहको प्रचारका लागि जनकपुरधाम पुगेका थिए।
राराब क्याम्पसनजिक आमसभा राखिएको थियो। त्यही आमसभामा सुरेशसँगै सयभन्दा बढी युवाले सभापति देउवाबाट कांग्रेसको सदस्यता लिए।
लोकतान्त्रिक फोरम परित्याग गरेर कांग्रेसमा सुरू भयो सुरेशको राजनीतिक यात्रा।
सैलुन कर्मसँगै राजनीति अगाडि बढाउँदै आएका उनको आफ्नो पालिकामा राम्रै प्रभाव छ। सालिन स्वाभावका सुरेशमा जो कोहीसँग सहजै घुलन हुने चरित्र छ।
कांग्रेसले २०७९ सालमा पहिलोपटक प्रदेस अधिवेशन गर्यो। पदाधिकारीदेखि सदस्यसम्म धेरै आकांक्षीहरू थिए। तीमध्ये एक थिए, सुरेश पनि। त्यही प्रदेस अधिवेशनबाट उनले राजनीतिमा छलाङ्ग मारे।
पुराना नेताहरूका बीच पदाधिकारीमा प्रतिस्पर्धा गर्न सम्भव थिएन। अनि उनले रोजे प्रदेस सदस्यको पद। समावेशी समूहमा प्रतिस्पर्धा गर्ने सुविधा हुँदाहुँदै पनि खुला समूह उनको रोजाइमा पर्यो।
सुरेश त्यो अधिवेशनबाट कांग्रेस मधेस प्रदेसको सदस्यमा भारि मत ल्याएर निर्वाचित भए। १४ जना प्रदेस समिति सदस्यमध्ये उनी छैठौं स्थानमा आए।
कांग्रेसका कैयौं पुराना नेताहरूले हार बेहोर्नुपरेको प्रदेस अधिवेशनमा सुरेशको जितले धेरैलाई आश्चर्यचकित तुल्यायो।
निष्ठा र इमानदारीका साथ पाएको जिम्मेवारी पूरा गरेकोले प्रदेस अधिवेशनका प्रतिनिधिहरूले आफूमाथि विश्वास गरेको सुरेश बताउँछन्।
‘म पार्टीमा धेरै पुरानो थिइनँ। ५–६ वर्षमात्रै भएको थियो कांग्रेसमा आवद्ध भएको,’ उनी भन्छन्,‘मैले पाएको जिम्मेवारी इमानदारीपूर्वक वहन गरेकै कारण सायद प्रतिनिधिज्यूहरूले विश्वास गर्नुभयो र मलाई निर्वाचित गराउनुभयो।’
प्रदेस समिति सदस्यमा निर्वाचित भएका सुरेश यतिबेला पार्टीको ट्रेड युनियन तथा श्रमिक विभागको प्रदेस प्रमुखको जिम्मेवारीमा छन्।
तर, उनको चाहना यतिकैमा सीमित छैन। पेशागत कर्मसँगै राजनीतिलाई अगाडि बढाउँदै गाउँठाउँ र समाज विकासका लागि धेरै काम गर्न चाहेका छन्, सुरेश।
विदेशमा आफूले भोगेका दुःख र कठिनाइ यहाँका युवाले भोग्न नपरोस् भनेर रोजगारीका अवसरहरू सिर्जना गर्न चाहन्छन्, उनी।(