.png) 
                
                
                     
                
                एमालेमा समाहित हुन वामदेव तयार, मागे दोस्रो वरियता
 
                    काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा(एमाले) मा जान जान तयार भएका छन्।
आइतबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा गौतम एमालेमा फर्कन तयार भएका हुन्।
यद्यपि एमालेमा फर्कन उनले पार्टीमा दोसरो वरियता मागेका छन्।
नेकपा एकता राष्ट्रिय अभियानमा आवद्धहरूको सम्मानजनक व्यवस्थापन गरी आफ्ना लागि दोसरो वरियता मागेका हुन्।
एमालेमा अहिले ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरियतामा छन्।
पार्टीमा रहेका व्यक्तिहरूको भूमिकाबारे आफूले लिस्ट तयार गरेर ओलीलाई बुझाउने बताएका छन्।
जवाफमा एमाले अध्यक्ष ओलीले पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन्।
यसअघि गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान समाजवादी मोर्चामा आवद्ध हुने चर्चा चलेको थियो।
यसका लागि गौतमले मोर्चा निर्माणको तयारीमा रहेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूसँग संवाद गरिरहेका थिए।
यसका साथै नेकपा एकता राष्ट्रिय अभियानले एमालेसँगको संवादलाई पनि कायम राखेको थियो।
यहीबीचमा एमालेले ७० वर्षे उमेरहदको प्रावधान निलम्बन ग¥यो। एमालेको यो निर्णयपछि गौतमलाई पुरानो पार्टीमा फर्कन सहज भएको छ।
एमालेसँग एकताका लागि सहमतिको नजिक पुगेपछि अभियानका संयोजक गौतम अब समाजवादी मोर्चामा आवद्ध नहुने निश्चित भएको छ।
सत्तारुढ तीन दलले गौतमलाई पनि मोर्चामा ल्याउन पहल गरेका थिए। तर, गौतम मोर्चामा बस्न अस्वीकार गरेपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामात्रै रहने गरी सोमबार मोर्चा घोषणा हुँदैछ।
अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले नेताहरूबाट मोर्चामा रहन प्रस्ताव आएको तर समाजवादका विषयमा आफूहरूले राखेको प्रस्तावमा मोर्चामा रहेका दलहरूले चासो नदेखाएको बताएका छन्।
नेकपाको अन्त्यपछि गौतम नेकपा एकता राष्ट्रिय अभियानमार्फत राजनीतिक गतिविधि गर्दै आएका छन्।
 
                                 
                 
                