post-slider post-slider

माघ ११ मा राष्ट्रियसभा निर्वाचन गर्न सुझाव

Image
A A

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।

आगामी फागुनमा रिक्त हुन लागेका राष्ट्रियसभाका २० सदस्यहरू पूर्ति गर्न आयोगले आगामी माघ ११ गते चुनाव गर्न सुझाव दिएको हो।

२०७४ सालमा पहिलो कार्यकालका लागि निर्वाचित भएकामध्ये एक तिहाइ सदस्यको पदावधि फागुन २० मा सकिँदै छ।

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका १९ सदस्य मतदानबाट र राष्ट्रिपतिबाट मनोनित एक गरी २० जना निर्वाचित हुनेछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय सिंहदरबारमा बिहीबार आयोगका प्रमुख आयुक्त गणेश थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रियसभा सदस्य निर्वाचनबारे सुझाव दिएका हुन्।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्रीले आयोगले सुझाव दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने बताएको जानकारी दिएका छन्।

प्रत्येक दुई वर्षमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि सकिन्छ। 

निर्वाचन कानुनबमोजिम पद रिक्त भएको ३५ दिनअघि नै राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ। जसअनुसार माघ १५ गतेभित्र निर्वाचन गर्नुपर्ने छ।

आयोगले सुझाव दिए पनि मन्त्रिपरिषदको बैठकबाट मितिबारे टुंगो लगाउनुपर्ने हुन्छ।

आयोगका अनुसार प्रदेसगत आधारमा कोसी, मधेस र लुम्बिनीबाट दुई–दुई जना, बागमतीबाट चार तथा गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन–तीन सदस्य निर्वाचित हुने छन्।

समावेशी समूहअन्तर्गत अन्य र महिला समूहबाट सात–सात, दलितबाट दुई तथा अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट तीन सदस्य निर्वाचित हुनेछन्।

 

 

Tags: