post-slider post-slider

न्यायपरिषदको निर्णयपछि निर्वाचन आयोगले फेर्‍यो निर्वाचन अधिकृत

Image
A A

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत परिवर्तन गरेको छ।

जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको हो।

बुधबार बसेको न्यायपरिषदको बैठकले जिल्ला अदालतका केही न्यायाधीशहरूलाई उच्च अदालतमा नियुक्त गर्ने निर्णय गरेको थियो।

११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले १२ पुसमा सातवटै प्रदेसमा निर्वाचन अधिकृत नियुक्त गरेको थियो।

जसअनुसार कोसी प्रदेसका लागि दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेसका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेसका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेसका लागि कृपासुर कार्की, कर्णाली प्रदेसका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेसका लागि ओमप्रसाद अर्याल नियुक्त भएका थिए।

तर, न्याय परिषदको निर्णयबाट उनीहरू उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका छन्।

यस्तै बागमती प्रदेसको निर्वाचन अधिकृत तोकिएका महेन्द्रबहादुर कार्कीले पनि स्वास्थ्य समस्याको कारण देखाएपछि उनको ठाउँमा पनि नयाँ निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्रअनुसार जगेडा सूचीमा रहेका जिल्ला न्यायाधीशहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम बिहीबारदेखि लागु हुनेगरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको शर्माले बताए।

जसअनुसार कोसी प्रदेसमा विष्णुप्रसाद गौतम, मधेस प्रदेसमा चित्रबहादुर गुरुङ, बागमती प्रदेसमा श्रीप्रसाद संजेल, गण्डकी प्रदेसमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेसमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेसमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेसमा विष्णुप्रसाद अवस्थी नियुक्त भएका छन्।

 

Tags: