post-slider post-slider

माओवादी राष्ट्रियसभाको पहिलो दल, तेस्रोमा खुम्चियो एमाले

Image
A A

काठमाडौं- राष्ट्रियसभाका १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा १८ मा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्।

कोसी प्रदेसको एक सिटमा अघिल्लोपटकजस्तै एमालेले अनेपक्षित जित हासिल गर्‍यो। 

गठबन्धनकै मतदाताहरूले ‘फ्लोर क्रस’ गरिदिएपछि महिलातर्फ माओवादीबाट उम्मेदवारी दिएकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रूक्मिणी कोइरालाले जित निकालिन्।

कोइरालाले ५ हजार ८६ मतसहित विजयी हुँदा गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेकी कार्कीले मात्रै ४ हजार ९९२ मतभार प्राप्त गरिन्।

कोसीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि र ३ जना प्रदेस सांसदले ‘फ्लोर क्रस’ गरेको विश्लेषण गठबन्धनका नेताहरूले गरेका छन्।

कोसीको एक सिटलाई छोडिदिने हो भने अरू सबै प्रदेसमा गठबन्धनका उम्मेदवारहरू फराकिलो मतान्तरले राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० जना सदस्यको पद रिक्त हुँदैछ। त्यसमध्ये बिहीबार १९ जना चयन गर्न निर्वाचन भएको हो भने एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मानोनित हुनेछन्।

चुनाव भएर बिहीबार नै सार्वजनिक भएको मतपरिणामपछि प्रतिनिधिसभामा ३२ सिटसहित तेस्रो ठूलो दल रहेको माओवादी केन्द्र राष्ट्रियसभामा भने सबैभन्दा ठूलो दल बन्दैछ।

फागुन २० मा पदावधि सकिने एमालेका ९ जना राष्ट्रियसभा सदस्य छन्, जसमा एमाले सरकारले आफ्नो तर्फबाट मनोनित सिफारिस गरेको विमला राई पौड्याल पनि छन्।

त्यस्तै कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा(एकीकृत समाजवादी) का २, जसपाको १ र स्वतन्त्र १ जना सदस्यको पदावधि फागुन १९ मा सकिँदैछ।

पौड्यालबाहेक बाँकी १९ पदका लागि बिहीबार निर्वाचन भएको हो।

राष्ट्रियसभाको संरचनाअनुसार अहिले एमाले सबैभन्दा ठूलो दल छ। एमालेसँग अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १८ सिट छ। यसमा राष्ट्रपतितर्फबाट मनोनित भएकी विमलाराई पौड्याल पनि छन्।

त्यस्तै माओवादी केन्द्रसँग उपाध्यक्ष उर्मिला अर्यालसहित १६ सिट छ। यसमा उसकै तर्फबाट राष्ट्रपतिले मनोनित गरेका नारायणप्रसाद दाहाल पनि जोडिएको छ।

कांग्रेससँग १०, एकीकृत समाजवादीसँग ८, जसपासँग ३, लोसपासँग १, राष्ट्रिय जनमोर्चासँग १ र स्वतन्त्र उम्मेदवार एक जना खिमलाल देवकोटा छन्।

राष्ट्रपतिबाटै मनोनित भएका बामदेव गौतम भने यतिबेला कुनै दलमा आवद्ध छैनन्। तत्कालीन नेकपाको सरकारबाट सिफारिस भएर मनोनित भए पनि उनी एमाले वा माओवादी केन्द्रसँग आवद्ध छैनन्।

माओवादी केन्द्रका १५ मध्ये ३ राष्ट्रियसभा सदस्यको पदावधि फागुनपछि सकिँदैछ। तर, बिहीबार भएको निर्वाचनमा उसले थप दुईसहित पाँच सिट प्राप्त गरेको छ।

योसँगै राष्ट्रियसभामा माओवादीसँग राष्ट्रपतिबाट मनोनित भएका एक सांसद नारायणप्रसाद दाहालसहित १८ सिट हुनेछ।

त्यस्तै कांग्रेसका १० मध्ये ४ सांसदको पदावधि सकिँदैछ। तर, बिहीबारको निर्वाचनमा उसले १० सिटमा जित प्राप्त गरेको छ। योसँगै राष्ट्रियसभामा कांग्रेसका अब १६ सदस्य हुनेछन्।

१६ सदस्यसहित कांग्रेस राष्ट्रियसभाको दोस्रो ठूलो दल बन्नेछ।

एकीकृत समाजवादी र जसपाका क्रमशः २ र १ सदस्यको पदावधि सकिँदैछ। तर, यी दुवै दलले सोही संख्यामा सिट प्राप्त गरेकाले कुल संख्याको संरचनामा कुनै परिवर्तन आउने छैन।

ती दलको आकार क्रमशः ८ र ३ हुनेछ।

राष्ट्रियसभामा सबैभन्दा ठूलो धक्का अहिले १८ सिट रहेको एमालेलाई लागेको छ। 

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एमालेका ९ सांसदको पदावधि सकिँदैछ। बिहीबारको निर्वाचनमा एक सिटमात्र जितेको एमालेसँग अब राष्ट्रियसभामा १० सिट हुनेछ।

यसअघि सबैभन्दा ठूलो दल रहेको एमाले राष्ट्रियसभामा अब तेस्रो स्थानमा खुम्चिने देखिन्छ।

लोसपाका एक सांसद यथावत रहनेछन्। त्यस्तै राष्ट्रिय जनमोर्चाका एक सांसदको पदावधि पनि यथावत रहनेछ।

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिबाट मनोनित हुने एक सिट राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको बताइएको छ। 

यो पार्टीकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनितका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति गठबन्धनमा भएको बताइन्छ।

राष्ट्रपतिबाट पौडेल सिफारिस भए राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाका दुई सांसद हुनेछन्।

 

Tags: