post-slider post-slider

भारतीय विदेशमन्त्री जयशंकर बिहीबार काठमाडौं आउँदै

Image
A A

काठमाडौं- भारतीय विदेशमन्त्री एस.जयशंकर बिहीबार काठमाडौं आउने भएका छन्।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयंशर काठमाडौं आउन लागेका हुन्।

भारतीय वायुसेनाको विशेष विमानबाट विदेशमन्त्री जयशंकरसहितको टोली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन्।

टोलीमा विदेशमन्त्री जयशंकरसहित विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने महासचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका पदाधिकारी पनि नेपाल आउन लागेको बताइएको छ।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने कार्यक्रम छ।

परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटसँगै विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

विदेशमन्त्री जयशंकरले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ।

त्यस्तै परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रि भोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाटको कार्यक्रम पनि तय भएको छ।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा नागरिक उड्डयन मन्त्रालयले तेस्रो देशको एयरलाइन्सहरूका लागि भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्न नयाँ एयर रूटका लागि प्रस्ताव राख्ने तयारी गरेको छ।

स्रोतका अनुसार मन्त्रालयले यो बाहेक भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम सञ्चालनका लागि प्राविधिक टिमको बैठकको मिति निर्धारणको प्रस्ताव पनि राख्ने भएको छ।

यसैगरी मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न सहरमा सीधा उडानका लागि पनि अनुमतिको प्रस्ताव राख्ने बताइएको छ।

त्यस्तै नेपाल–भारतका परराष्ट्रमन्त्रीको उपस्थितिमा १० हजार मेगावाट विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।

त्यस्तै दुवै देशका परराष्ट्रमन्त्रीले बिहीबार १३२ केभिडएका तीनवटा प्रसारण लाइनको संयुक्त रूपमा उदघाटन गर्ने कार्यक्रम तय भएको छ।

परराष्ट्रमन्त्री साउद र विदेशमन्त्री जयशंकरले भारतको बिहार राज्यसँग जोडिने रक्सौल–परवानीपुर, कुशाहा–कटैया र भारतको उत्तर प्रदेससँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उदघाटन गर्ने बताइएको छ।

 

Tags: