post-slider post-slider

बारामा विस्फोट : मृतकको संख्या तीन पुग्यो

Image
A A

काठमाडौं, फागुन १५- बाराको निजगढ नगरपालिका-७ स्थित वर्कसपमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

ग्यारेज सञ्चालक बारा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगन्ज महानगरपालिका-९ का २० वर्षीय रितु रजत रहेका छन्।

मगर र जैसवालको सोमबार उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको थियो।

यस्तै, रजतको उपचारको क्रममा सोही अस्पतालमा मंगलबार बिहान साढे ७ बजे मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

विस्फोटमा घाइते भएका ६ जनामध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको उनले बताए।

घाइते रहेका अन्य तीन जनामध्ये एक जनाको अवस्था गम्भीर छ। घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन्।  घाइतेमध्ये साह गम्भीर छन्।

‘विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ यो प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन सकिन्छ,’ बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

‘लेथमा फलाम काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

विस्फोटक वस्तु निकै शक्तिशाली रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।

उनले भने, ‘खुला स्थान विस्फोट भएकाले कम क्षति भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठूलो क्षति हुने देखिन्छ।’

विस्फोटबाट कारखानानजिकका घरहरूमा समेत क्षति पुगेको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ।

प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

निजगढ नगरपालिका-९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ। जैसवालले सुरूमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए। 

लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो। प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ। यो नेपालमा नपाइने प्रहरीले जनाएको छ। 

प्रहरीले घटनापछि कवाडी किन्ने र बेच्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ४० वर्षीय रमेश जैसवाल र निजगढ नगरपालिका-९ का २९ वर्षीय टिकाराम पाख्रिङ छन्।

जैसवाल कवाडी किन्ने र पाख्रिङ कवाडी बेच्ने व्यक्ति हुन्।

Tags: