post-slider post-slider

डेंगुबाट चार जनाको मृत्यु, बिपी प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन

Image
A A

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको उपचारका लागि छुट्टै वार्ड सञ्चालन भएको छ।

धरानमा डेंगुको प्रकोप बढ्दै गएपछि उपचारका लागि प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालनमा ल्याइएको हो। डेंगुको प्रकोपबाट हालसम्म बिपी प्रतिष्ठानमा चार जनाको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेलले हालसम्म डेंगु प्रभावित चार जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

जेठ २३ गते धरान १७ की ३० वर्षीया एक महिला, असार १५ गते धरान १९ की ४० वर्षीया महिला, साउन २ गते धरान १९ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको उनले बताए।

धरानलगायत सुनसरी जिल्ला आसपासका अन्य जिल्लामा व्यापक रूपमा डेंगु फैलिँदै गएपछि नियन्त्रण तथा सर्वसाधारणको सहज उपचारका लागि बिपी प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको डेंगु वार्ड सञ्चालमा ल्याइएको पोखरेलले जानकारी दिए।

उनका अनुसार असार २९ गतेदेखि साउन ७ गतेसम्ममा ८१९ जनाको परीक्षण गर्दा ६१५ जना अर्था ७५ प्रतिशतमा डेंगु संक्रमण देखिएको छ।

बिपी प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा डेंगु देखिने गरेको छ।

धरानको वडा नम्बर ११, १५, १७ र १८ मा डेंगुको बढी प्रकोप देखिएको छ।

प्रतिष्ठानको इमर्जेन्सी वा ओपिडीमा उपचारका लागि आएका डेंगुका बिरामीहरूमध्ये सिकिस्त बिरामीहरूलाई आइसियू, इमर्जेन्सी र अन्य वार्डहरू राख्ने तयारी गरिएको छ।

त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई वार्डमा भर्ना गरी उपचार गरिने पोखरेलले बताए।

 

Tags: