post-slider post-slider

१३ लाख बढी पशुमा लम्पी स्किनको संक्रमण

Image
A A

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले अहिलेसम्म १३ लाख बढी पशुमा लम्पी स्किन संक्रमण पुष्टि भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन रोगको अवस्थाबारे विवरण प्रस्तुत गर्दै मन्त्री भुसालले अहिलेसम्म १३ लाख ५ हजार ३६१ पशुमा लम्पी स्किन संक्रमण भएको जानकारी दिए।

उनकाअनुसार उपचारपश्चात १० लाख ८२ हजार १५९ पशु निको भइसकेका छन्।

त्यस्तै अहिले १ लाख ७५ हजार ५ सयभन्दा बढी पशुमा लम्पी स्किनको संक्रमण कायम रहेको उनले बताए।

भुसालले पछिल्लो तथ्यांकअनुसार लम्पी स्किनबाट मर्ने पशुको संख्या ४७ हजार ६४९ रहेको जानकारी दिएका छन्।

पशु सेवा विभागले भने साउन १२ गतेसम्मै लम्पी स्किन संक्रमणबाट मर्ने पशुको संख्या ५० हजार नाघेको बताएको थियो।

मन्त्री भुसालले अहिलेसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार ४५० पशुलाई खोप लगाइसकिएको जानकारी दिएका छन्।

पहाडी जिल्लाहरूमा संक्रमण क्रमशः घटिरहे पनि मधेस र बागमती प्रदेसका केही जिल्लामा संक्रमण देखिइरहेको उनको भनाइ छ।

भुसालले लम्पी स्किन नियन्त्रणका लागि तीन तहको सरकारको समन्वयमा काम भइरहेको बताए।

उनले लम्पी स्किनविरूद्ध भारत र चीनबाट खोप आयात गर्ने पहल भइरहेको जानकारी दिए।

 

Tags: