post-slider post-slider

लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

Image
A A

काठमाडौं- जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ। 

बुधबार राति सम्पन्न समूह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो। 

जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले गोल गरेका थिए। 

यो जितपछि जर्मनीको समूह ए मा २ खेलमा ६ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ। जितसँगै जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ। 

त्यसैगरी, हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ। अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ। 

 जारी युरोकप अन्तर्गत समूह बी को खेलमा क्रोएसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दै अल्बानियाले २-२ गोलको बराबरीमा रोकेको छ।

१-० गोलले पछि परेको क्रोएसियाले खेलको ७४औं र ७६औ मिनेटमा गोल गर्दै २-१ को अग्रता हासिल गरे पनि इन्जुरी समयमा रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो।

अल्बानियाका लागि खेलको ११औं मिनेटमा क्वाजिम लासीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७४औं मिनेटमा क्रोएसियाका लागि आन्द्रेज क्रमारिकले बराबरी गोल गरेका थिए।

त्यसपछि ७६औं मिनेटमा अल्बानियाका क्लाउस ग्जासुलाले आत्मघाती गोल गरेपछि क्रोएसियाले २-१ को अग्रता हासिल गरेको थियो। त्यसपछि ९० मिनेटपछिको इन्जुरी समयको पाँचौं मिनेटमा अल्बानियाका क्लाउस ग्जासुलाले गोल गर्दै खेल बराबरी गरेका थिए।

यो बराबरीपछि क्रोएसियाको नकआउट चरणमा छनौट हुने सम्भावना कठिन बनेको छ। क्रोएसियाले पहिलो खेलमा स्पेनसँग हर व्यहोरेको थियो।

क्रोएसियाको अब २ खेलमा केवल एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ। त्यस्तै, अल्बानियाको पनि २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ।

अब क्रोएसियाले समूह चरणको अन्तिम खेल जुन २५ मा इटालीविरुद्ध खेल्ने छ भने अल्बानियाले जुन २५ मै स्पेनसँग खेल्ने छ।

जारी युरोकप अन्तर्गतको समूह ए को खेलमा स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन्।

बुधबार राति भएको खेलको १६औं मिनेटमा स्कटल्याण्डका स्कट म्याक टोमिनीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६औं मिनेटमा स्वीजरल्याण्डका लागि जेर्डन शाकिरीले गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो।

यो बराबरीपछि स्वीजरल्याण्डको समूह ए मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ। त्यस्तै, स्कटल्याण्डको भने २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ।

अब समूह चरणको अन्तिम खेलमा स्वीजरल्याण्डले जुन २४ मा जर्मनीको सामना गर्ने छ भने स्कटल्याण्डले जुन २४ मै हंगेरीको सामना गर्ने छ।

Tags: