post-slider post-slider

प्रसाईं समूहले आज सिफलमा प्रदर्शन गर्ने

Image
A A

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह तीनकुने र माइतीघरमा आन्दोलन गर्ने निर्णयबाट पछि हटेको छ।

स्थानीय प्रशासनले माइतीघर र तीनकुने क्षेत्रमा आन्दोलन गर्न स्वीकृति नदिएपछि प्रसाईं समूह पछि हटेको हो।

स्थानीय प्रशासनको यो निर्णयपछि प्रसाईं समूह वैकल्पिक स्थानमा आन्दोलन गर्न तयार भएको छ।

प्रसाईं समूहले शनिबार वैकल्पिक स्थान सिफल चौरमा प्रदर्शन र सभाको आयोजना गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलमा कार्यक्रम गर्न सहमति दिएको प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियानले जनाएको छ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले प्रशासनसँगको सहमतिअनुसार नै सिफलमा प्रदर्शनका लागि तयार भएको बताएका छन्।

बल प्रयोग गरेर अघि बढ्दा हिंसा हुने देखिएपछि ब्याक हुनुपरेको उनको भनाइ छ।

उनले सिफलमा सकेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने महाअभियानको चाहना रहेको बताए।

प्रसाईंले पनि आज तीनकुनेका लागि तय भएको कार्यक्रम विशेष प्राविधिक कारणले सिफल चौरमा हुने जनाएका छन्।

बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘कार्यक्रम सोही  समयमा हुने भएकाले सम्पूर्ण नागरिकहरूलाई सिफल चौरमा उपस्थित हुनुहुन अनुरोध गरिन्छ।’

प्रसाईं समूहले बिहीबारबाट काठमाडौं उपत्यकामा वृहत् नागरिक मुक्ति आन्दोलनको नाममा प्रदर्शन गरिरहेको छ।

पहिलो दिन बल्खुमा गरिएको कार्यक्रममा तनाव बढेपछि झडप भएको थियो।

शुक्रबार प्रसाईं समूहले तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएको भन्दै सुरक्षा निकायले त्यो क्षेत्रमा प्रसाईं समूहलाई प्रदर्शन गर्न दिएन।

कार्यक्रमस्थलमा आउन खोजेपनि प्रहरीले प्रसाईंलाई घरभित्रै निगरानीमा राखेको थियो।

 

Tags: