post-slider post-slider

एक चौथाई पनि नपुगेपछि संसद् बैठक स्थगित, हाजिरी मेसिन राख्दा पनि टेरेनन् सांसदले

Image
A A

काठमाडौँ - गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि नेमकिपा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्दा नेकपा एमालेका सचेतक महेश बर्तौतालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए।

त्यसपछि तीन मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन गरिएको थियो। तर सांसदको ६५ मात्र थियो। कुनै पनि विधेयक प्रस्तुत गर्दा सांसदको संख्या ६९ अर्थात् एक तिहाई हुनुपर्ने व्यवस्था छ।

६५ जना मात्र सांसद भएपछि सभामुख घिमिरेले बैठकको कार्यसूचीको कार्यक्रम हटाई बैठक स्थगित भएको घोषणा गरे।

यसअघि विभिन्न समयमा पनि सांसदहरूको गणपूरक संख्या नपुगेर बैठक स्थगित हुँदै आएको छ।

यसरी पटक-पटक गणपूरक संख्या अपुग हुन थालेको भन्दै संसद्‌ सचिवालयले यस अधिवेशनबाट सांसदहरूको हाजिरी डिजिटल प्रविधिबाट गर्ने व्यवस्था गरेको थियो। यद्यपि गणपुरक संख्यासमेत आजको बैठकमा पुगेन।

सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाएका छन्।

Tags: