post-slider post-slider

प्रधानमन्त्रीलाई विपिन जोशीको बुबाआमाको प्रश्न – छोरो कहिले फर्किन्छ?

Image
A A

काठमाडौं- हमासले बन्धक बनाएको भनिएका विपिन जोशीका बुबाआमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छोराको रिहाइका लागि भइरहेको पहलबारे जानकारी लिएका छन्।

शुक्रबार धनगढी विमानस्थलमा प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा उनीहरूले छोरा विपिनबारे जानकारी लिएका हुन्।

भेटका क्रममा विपिनका बुबाआमाले छोराको उद्धारका लागि भइरहेको पहलबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए।

यो क्रममा प्रधानमन्त्री प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिनसहितका ४० विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।

२० असोजमा इजरायलको किबुजस्थित कृषि फर्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

कञ्चनपुर भीमदत्त नगरपालिका–३ का विपिन भने सम्पर्कविहीन भएका थिए। विपिनलाई इजरायलमाथि आक्रमण गरेको हमास समूहले बन्धक बनाएको बताइएको छ।

यसबीचमा हमासले कतिपय बन्धकहरूलाई रिहा गरे पनि विपिनको अवस्था भने अझै अज्ञात छ।

उनको रिहाइका लागि पहल गरिदिन नेपाल सरकारले कतार र इजिप्टसँग पटकपटक आग्रह गरेको छ।

सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन कैलाली पुगेका प्रधानन्त्री प्रचण्डसँग विपिनका परिवारले भेटघाट गरेका हुन्।

 

Tags: