चामल निर्यातमा प्रतिबन्धको असर : जोखिममा व्यवसाय, मर्कामा उपभोक्ता
काठमाडौं- ‘भारतबाट चामल आउन बन्द भइसक्यो। पसलमा ताला लगाएर व्यवसाय बन्द गर्ने स्थिति सिर्जना भइसक्यो। ज्यादै विकट समस्या भएको छ।’
मधेस प्रदेसको राजधानी जनकपुरधामको हटियास्थित एक चामल व्यवसायीको दुखेसे हो हो।
वर्षौैदेखि चामलको व्यवसाय गर्दै आइरहेका ती व्यवसायी यतिबेला बिचल्लीमा छन्। पुराना स्टोकले जेनतेन व्यवसाय गरिरहेका छन्, उनी।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि उनको व्यवसाय नै धरापमा पर्ने अवस्थामा पुगिसेको छ।
जनकपुरधामका अरू चामल व्यवसायीको पनि उनी जस्तै गुनासो छ। भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएयता व्यवसाय ठप्प भएको छ नै बैंकबाट उठाएको ऋण तिर्न पनि धौ–धौ परिरहेको उनी छेउकै अर्का एक व्यवसायीले बताए।
‘पसलमा चामल छैन। व्यवसाय लगभग बन्द भइसक्यो। ऋण लिएको तेब्बर कारोबार बैंकलाई देखाउनुपर्ने हुन्छ। राजश्व पनि त्यहीअनुसार बुझाउनुपर्छ। गम्भी स्थितिमा हामी पुगिसकेका छौं,’ अर्का एक व्यवसायीले भने।
आफ्नो उत्पादनले वर्षभरी धान्नसक्ने अवस्था नहुँदा नेपाल धान र चामलका लागि भारतमाथि निर्भर छ। आफ्नो उत्पादनबाट मुश्किलले तीन महिना धान्नसक्ने भएकाले बाँकी अवधिका लागि भारतबाट चामल आयात हुने गरेको छ।
तर भारतले बासमतीबाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागू हुनेगरी रोक लगाएको छ।
खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप भारतले चामल निर्यातमा प्रतिबन्धको घोषणा गरेको थियो।
भारत विश्वकै अग्रणी चामल निर्यात गर्ने मुलुक हो, जसले विश्व चामल व्यापारमा करिब ४० प्रतिशत हिस्सा ओगट्छ।
भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपालमा परेको व्यवसायीहरू बताउँछन्।
‘हाम्रो उत्पादनले तीन महिना पनि धान्न कठिन छ। यसपालि झनै धानको राम्रो खेती हुनसकेको छैन,’ जनकपुरधामका चामल व्यवसायी रमेश साह भन्छन्,‘प्रतिबन्ध चाँडै फुकुवा नहटे हामीले व्यवसाय बन्द गर्ने अवस्था आउँछ नै उपभोक्तासमेत मारमा पर्ने हुन्छ।’
भारतले प्रतिबन्ध लगाएयता केही ठूला व्यवसायीबाट चामल खरिद गरेर व्यापार गर्दे आएको उनले बताए।
‘पहिले हामी आफैं सोझै भारतबाट चामल ल्याएर व्यवसाय गरिरहेका थियौं। प्रतिबन्धपछि सुरूको स्टक र केही ठूला व्यवसायीबाट खरिद गरेर व्यापार गरिरहेका छौं। तर, यो पनि अब धेरै जाला जस्तो लागेको छैन,’ उनले भने।
बजारमा चामलको अभाव देखिए पनि सीमा नजिक भएकाले जनकपुरधाम र आसपासका उपभोक्ता खासै समस्यामा परेको देखिएको छैन। कतिपय उपभोक्ताहरू सीमा क्षेत्रको बजारबाट चामल खरिद गरेर ल्याउने गरेका छन्।
‘सीमा क्षेत्रको बजारबाट उपभोक्ताले एक–दुई बोरा चामल ल्याउने गरेका छन्। तर, समस्याको यो दीर्घकालीन समाधान होइन। प्रतिबन्ध फुकुवाका लागि सरकारले पहल गरिदिनुप¥यो,’ अर्का एक व्यवसायीले भने।
भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै चामलको मूल्य पनि अकाशिएको छ। सबैभन्दा कम गुणस्तरको ठानिएको सोनामन्सुली धान प्रतिकेजी ३५ रूपैयाँमा बिक्री भइरहेको छ।
त्यस्तै कतरनी चामलको प्रतिकिलो ७५ र बासमती चामलको मूल्य प्रतिकिलो १५० भन्दा बढी पुगेको छ।
यसपालि धानको राम्रो उत्पादन नभएकाले चामलको मूल्य झनै बढ्नसक्ने अनुमान व्यवसायीहरूको छ।
नेपालमा आवश्यक धानचामलको करिब २१ प्रतिशत भारतबाट आयात हुने गरेको छ। भारतले निर्यात बन्द गरेपछि यसको सिधा असर नेपालको उपभोक्तामाथि परिरहेको छ।
भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धानचामलको निर्यातमा २० प्रतिशत कर लगाउन सुरू गरेको थियो।
तर, नेपाल सरकारको अनुरोधपछि वार्षिक ६ लाख मेट्रिक टनसम्म धानचामलमा कर छुट दिने भारत सरकारले निर्णय गरेको थियो। यही कोटाअन्तर्गत भारतबाट धानचामल आयात भइरहेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा चामलको माग पूर्ति गर्न वार्षिक ७० लाख मेट्रिक टन हाराहारीमा धान आवश्यक छ। जसमध्ये करिब ५५ लाख मेट्रिक टन धान नेपालमै उत्पादन हुन्छ भने बाँकी १५ लाख मेट्रिक टन हाराहारीमा धान वा यसअनुसारको चामल भारतबाट आयात हुन्छ।
कतिपय व्यवसायी भारतले चामलको निर्यात रोकेपछि सरकारले अब धान आयातका लागि पहल गर्नुपर्ने बताउँछन्।
नेपाललाई चाहिने जति धान भारतबाट ल्याउनसक्दा देशभित्रका हजारौं चामल कुटानी गर्ने मिल लाभान्वित हुने उनीहरूको भनाइ छ।
उपभोक्ताको आवश्यक्ता पूरा गर्न नेपालले हरेक दिन कम्तीमा १० करोड मूल्यको धानचामल आयात गर्दै आएको छ।
गत आर्थिक वर्षको ११ महिनामा ३३ अर्ब ६३ करोड रूपैयाँको धानचामल आयात भएको थियो।
नेपाल चामलमा मात्रै होइन गहुँलगायतका प्रमुख खाद्यान्न, तरकारी, फलफूल आदिनमा पनि परिनिर्भर छ।
भारतले चामलको निर्यातलाई खुला नगरे देशभित्र समेत धानको उत्पादन कम भए चामलको बजार मूल्य अकाशिएर आम उपभोक्तामा पर्ने देखिन्छ।