post-slider post-slider

रवि लामिछानेलाई प्रश्न - तपाईं आफूमाथि लागेका आरोपबारे गिरफ्तारी दिन सक्नुहुन्छ?

Image
A A

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउले नेपाली लोकतन्त्रमा नवअधिनायकवादी शासन व्यवस्थाको चरित्र कसरी प्रस्तुत हुन्छ भन्ने भाष्य निर्माण गरेको छ। सिरोहियालाई कान्तिपुर मिडिया ग्रुपबाटै पक्राउ गरिएबाट पनि त्यो मिडिया ग्रुप र त्यसले प्रकाशन गर्दै आएको कान्तिपुर दैनिकसँग गृह प्रशासन कुन हदसम्म क्रुद्ध छ भन्ने देखिन्छ। कान्तिपुरसँग गृह प्रशासनले गरेको ज्यादतीको हामी निन्दा गर्दछौं।

यसबेला हामी स्मरण गर्छौं, शाही सेनाले कान्तिपुरको समाचार कक्षमा गएर यो वा त्यो लेख भनेर देखाएको बन्दुके शासन। त्यसबेला कान्तिपुर झुकेन। त्यस्तो बन्दुके शासनमा कैयन पत्रकार पक्राउ परे, तैपनि मिडिया मालिकहरू बन्दुके शासनबाट डगमगाएनन् र कान्तिपुर लोकतन्त्र र गणतन्त्रको मुखरेदार साबित भयो।२०६२/६३ को जनआन्दोलनमा एउटा ‘दल’ थियो भने त्यो कान्तिपुर हो भनेर आजसम्म चित्रित गरिएकै छ। र, जसको माध्यमले लोकतन्त्रको जग मात्रै निर्माण गरेन, शाही शासनको अन्त्यको गोरेटो कोर्‍यो तथा कांग्रेसजस्तो ‘कन्जरभेटिभ’ पार्टीलाई गणतन्त्रको मार्गमा डोर्‍यायो।

त्यो बेला रवि लामिछाने अर्थात् अहिलेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कहाँ थिए? त्यसमा नजाऔं।

लामिछानेकै शब्दमा भनौं- हो, हामीले भन्नैपर्छ, लेख्नैपर्छ, गर्नैपर्छ- कान्तिपुरका अध्यक्ष सिरोहियामाथि नागरिकता प्रयोग-दुरुपयोगको आरोप छ। उनले यो मुद्दामा आफूले झेल्ने कानुनी उल्झन उनीसँगै छ। उनी त्यो कानुनी परिबन्धबाट जेलिइरहुन् या मुक्त हुन् त्यो न्यायिक निसाफको दृष्टिले टुंग्याउला। गृह प्रशासनको सूचना लामिछानेसँगै छ, उनले कान्तिपुरका अध्यक्षलाई जेल नै हालुन्।

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपको कुनै आयतन बाँकी छैन। लोकले आज रविमाथि कैयन प्रश्न गरिरहेकै छ। लोकतन्त्रमा पक्ष-विपक्ष सबैको आवाज सुन्नपर्छ। आज लामिछानेका कारण सार्वभौम मानिएको सदन बन्धक छ। त्यसले सत्तापक्षको मात्रै कुरा सुनिरहेको छ। उसलाई लोकतन्त्रमा प्रतिपक्ष हुन्छ भन्ने हेक्का छैन। सभामुख फगत कुनै दलको ‘कारिन्दा’ छन्, जसले आफूलाई ‘ठाउँ’मा पुर्‍याएको ऋण सत्तापक्षसँग ‘चुक्ता’ गरिरहेका छन्।

कान्तिपुरले रविमाथि लागेका आरोपमाथि तथ्य सूचना बाहिर ल्यायो, त्यसैमाथि गृहमन्त्री लामिछानेको रोष छ। आफूमाथि लागेका आरोपमा न्यायिक निरुपण खोज्नुको सट्टा लामिछाने प्रतिशोधमा उत्रिएका छन्। आफैंमाथि हुनुपर्ने डन्डा अरूतिर सोझ्याएका छन्। आश्चर्य यसैमा छ उनी कहाँबाट र कुन तौरबाट सञ्चालित छन्? लडाइँमा कुशल लडाकू र सक्षम घोडाको प्रयोग हुन्छ। लामिछानेसँग न सक्षम लडाकू छन् न कुशल घोडा।

कान्तिपुरका अध्यक्ष सिरोहियाले नागरिकताको दुरुपयोग गरेको आरोप जतिबेला आयो, तब कान्तिपुरले लामिछानेमाथि शृंखलाबद्ध समाचार छाप्यो। शंकाजन्य हो भने त्यसमाथि कारबाही चलाउने कदम लामिछानेले नै हो, यो पुष्टि गरे लामिछानेप्रति सारा संसार सराहनीय हुनैपर्छ।

गृह प्रशासनको काम-कारबाहीको तौरबारे थोरै प्रष्ट हुनुपर्छ। नागरिकता प्रयोग-दुरुपयोगको सजाय के हो? त्यसको कारबाही के हो? लामिछाने यो विषयमा थोरै जानकार छन् भने आफैंमाथि लागेको नागरिकता दुरुपयोगबाट विषयवस्तु उठान हुनुपर्ने हो।

एउटा सत्य भन्न झुक्न हुन्न, लामिछानेमाथि ‘तथ्यगत’ लान्छना कान्तिपुरले लगाइरहेको थियो। त्यो लान्छनामाथि लामिछाने कानुनी उपचारमा जान सक्थे। तर, लामिछाने त्यसरी किन मान्थे, उनले पुलिस नै सञ्चार गृहमा पठाउन लगाए। रविमाथि नागरिकता र पासपोर्टको दुरुपयोग गरेको आरोपको छिनोफानो हुन बाँकी छ। आफैंमाथि लागेको आरोपको स्पष्ट छानबिन नहुँदै उनी दोस्रोपटक गृहमन्त्री बने। कसरी बने त्यो लोकलाई थाहा छ।

आज लामिछानेमाथि सहकारी ठगीको संघीन आरोप लागेको छ। उनी सहकारी ठगीमा फरार भएका गितेन्द्रबाबु राईका ‘पार्टनर’ छन्। आज गितेन्द्रलाई अन्तर्राष्ट्रिय प्रहरीसमेतले खोजिरहेको छ। ती व्यक्तिलाई पक्राउका लागि लामिछाने या उनको गृह प्रशासन र प्रहरीले के कदम उठायो? आफू साझेदारको रूपमा रहेको गोर्खा मिडियामा सहकारीबाट ऋणको रुपमा लिइएको रकम कसरी दुरुपयोग भयो? गृह प्रशासन सम्हालेको मन्त्री यो दुत्कर्मबाट भाग्न मिल्छ?

कान्तिपुरले त्यही दुत्कर्म भण्डाफोर गरिरहेको छ। लामिछाने जसले आफूमाथि लागेका आरोपको सम्प्रेषण गरिरहेको तिनै मिडिया ग्रुपका अध्यक्षलाई पक्राउ गर्न प्रहरीलाई उक्साएर आफू ‘सफा’ रहेको साबित गर्न खोज्दैछन्,  त्यसले उनको राजनीतिक ‘आयू’ छोट्याएको छ।

आफूमाथि लागेका संघीन आरोपबारे लामिछाने कानुनी दायरामा आउन तयार छैनन्। उनीमाथि कैयन प्रश्नहरू रहेका छन्, लोकरिझ्याइँका निम्ति तथाकथित आरोप-प्रत्यारोपको सहारामार्फत् उनी गृह प्रशासन चलाइरहेका छन्। आफैंमाथि छानबिन हुनुपर्ने प्रश्नलाई प्रतिनिधिसभाबाट विषयान्तर गर्दै प्रतिशोधको तापक्रममा रुमल्लिएका छन्।

कैलास सिरोहियामाथि लागेको आरोपको कुरा गरौं। उनी कुनै संघीन अपराधमा थिए भने उनलाई पक्रन प्रहरी सञ्चारगृह होइन, जहाँ पनि पुग्नैपर्छ।  सिरोहियामाथि हत्या, बलात्कार, चेलिबेटी बेचबिखन या अपहरणको आरोप छ? र उनी तत्कालै देश छोडेर भाग्ने अवस्थामा छन्? सिरोहियामाथि लागेको आरोप नागरिकता प्रयोग-दुरुपयोग हो। आज अदालत, सरकारी वकिल र प्रहरी साक्षी छ कैयन मुद्दा-मामिलामा। ज्यान मारेको आरोपमा प्रतिवादीलाई अदालतले मौका दिएको छ, चाहे त्यो अफताब आलम हुन् या काशी तिवारीको हत्याका आरोपी प्रभु साह नै।

सिरोहिया यी मध्ये कुन आरोपी हुन्, जो देशै छोडेर भाग्न सक्छन् र कान्तिपुरको कार्यालयमै गएर पक्रन पर्‍यो। पक्रनुभन्दा अघि सिरोहिया भन्दैथिए – म आफूमाथि लागेको आरोप कानुनसम्मत् तवरले दिन्छु। उनले बिना रोकटोक गिरफ्तारी दिए। आफूमाथि लागेका आरोपबारे कानुनी रूपमै जवाफ दिने चेष्टा गरे।

लामिछानेलाई प्रश्न - तपाईं आफूमाथि लागेका आरोपबारे गिरफ्तारी दिन सक्नुहुन्छ?

Tags: