इङ्ल्याण्ड र स्पेन युरो कपको क्वाटरफाइनलमा
काठमाडौं- इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। आइतबार राति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
इङल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जित हासिल गरेको हो। इङल्याण्डले दुवै गोल ९० मिनेटपछिको इन्जुरी समयमा गरेको थियो।
खेलको ९१औं मिनेटमा ह्यारी केनले र ९५औं मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए। यसअघि २५औं मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
अब क्वाटरफाइनलमा इङल्याण्डले स्वीजरल्याण्डको सामना गर्ने छ। यो खेल आगामी जुलाई ६ मा हुने छ। त्यस्तै, हारसहित स्लोभाकिया भने युरोकपबाट बाहिरिएको छ।
यस्तै, जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ।
स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो। स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे।
पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो। १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए।
त्यसपछि स्पेनले लगातार पोस्टमा आक्रमण गरे पनि खेल बराबर गर्न भने ३९ औं मिनेट कुर्नुपर्यो। पेनाल्टी क्षेत्र बाहिरबाट रोड्रीले गोल गरेपछि स्पेन खेलमा फर्कियो।
दोस्रो हाफको ५१ औं मिनेटमा रुइजले स्पेनलाई अघि बढाए। लामिन यामालले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासमा रुइजले ६ यार्ड बक्स भित्रबाट हेडर गोल गरेका थिए।
७५ औं मिनेटमा विलियम्सले स्पेनको अग्रता दोब्बर पारे। जर्जियाको आक्रमण क्लियर गरेपछि सुरू भएको काउन्टरमा विलियम्सले मिडफिल्डबाट आफैं बल बढाउँदै पेनाल्टी क्षेत्रभित्र फिनिस गरे।
८३ औं मिनेटमा बेन्चबाट आएका ओल्मोले स्पेनको जित पक्का गरे। उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारमा गोलरक्षकले बचाउने कुनै प्रयास गर्न सकेनन्।
अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ।