post-slider post-slider

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही : गृह

Image
A A

काठमाडौं- गृह मन्त्रालयले टिकटकलगायतका सामाजिक सञ्जालको मर्यादित रूपमा प्रयोग गर्न प्रयोगकर्तासँग आग्रह गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग बढ्दै गएपछि गृहले प्रयोगकर्ताहरूलाई यस्तो आग्रह गरेको हो।

सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पर्नुका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको छ।

मन्त्रालयले जिम्मेवार नागरिकका रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्रीमात्र सामाजिक सञ्जालमा राख्न अनुरोध गर्दै गैरकानुनी काम गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

सामाजिक सञ्जालको दुरूपयोग रोक्न तथा दोषीउपर कानुनी कारबाही गर्न तथा गलत सामग्री सञ्जालबाट स्वतः हट्ने व्यवस्था मिलाउन सिंगापुरस्थित टिकटक कार्यालय र नेपाल प्रहरीको साइबार ब्युरोलगायत सरकारी निकायबीच सहकार्य बढाउने विषयमा छलफल भएको गृहले जनाएको छ।

‘सामाजिक सद्भाव बिगार्ने, विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील गतिविधि तथा सामग्री हटाउने र त्यस्ता सामग्री सञ्जालमा राख्ने व्यक्ति पत्ता लगाइ कानुनी दायरमा ल्याउनेलाई कानुनी कारबाही गरिनेछ,’ गृहले जारी गरेको वक्तव्यमा भनिएको छ।

 

Tags: