लुम्बिनीमा माओवादीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लियो
बुटवल- लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्री मन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेपछि माओवादीले यस्तो निर्णय गरेको हो।
केन्द्रमा गठबन्धन हेरफेर भएपछि यसको असर प्रदेशमा पनि पर्न थालेको छ।
लुम्बिनी माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारूले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएका छन्।
१० दल र एक स्वतन्त्र सांसदसहित ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन्। माओवादीले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्रीको पक्षमा बहुमत कायमै छ।
लुम्बनीमा माओवादीबाट धनबहादुर मास्की राना र कृष्णा केसी मन्त्री थिए।
गत वर्ष वैशाख १४ गते ८ दल र एक स्वतन्त्र सांसद गरी ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको थियो।
अब मुख्यमन्त्री चौधरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।