post-slider post-slider

मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या

Image
A A

जनकपुरधाम- मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

हत्याको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडा बस्ने २० वर्षीय पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

गत बिहीबार सोनापाडा बस्ने रुपेश महरा जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतामा मृत फेला परेका थिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले प्रशिक्षित कुकुरसहितको टोली परिचालन गरेको थियो।

अनुसन्धानपछि सहनी र मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।

लागुऔषध सेवन गरेका तीनै जनाबीच मोबाइलको विषयमा सामान्य विवाद हुँदा पवन र हरिचनले साथी रुपेशलाई बाँसको भाटा प्रहार गरी घाइते अवस्थामा छाडेर गएको खड्काले बताए।

उनले घाइते अवस्थामा रहेका रुपेशको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।

उनीहरू बुधबार टेम्पो चढेर जटही नाका हुँदै भारत बजारमा गइ लागुऔषध सेवन गरेका थिए।

त्यही राति साढे ९ बजे जनकपुरधाम–२३ स्थित बाटोमा मोबाइल फोनको विषयमा विवाद हुँदा हरिचनले बाँसको भाटाले रुपेशको टाउकोलगायत पिठ्युमा प्रहार गरी खेतमा फालेको प्रहरीले जनाएको छ।

पवनले हरिचनलाई सहयोग गरेको खुलेको छ।

दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए।

 

Tags: