post-slider post-slider

नेपाल र रोमानीयाबीच ‘एमओयू’ मा हस्ताक्षर, नेपाली कामदारले रोमानीयाका नागरिकसरह अधिकार पाउने

Image
A A

काठमाडौं- नेपाल र रोमानियाबीच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

शुक्रबार रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा एक कार्यक्रमकाबीच एमओयूमा हस्ताक्षर भएको हो।

नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रम तथा सामाजिक ऐक्यबद्धतामन्त्री सिनोमा बुकुरा–ओप्रस्कुले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय बैठकपछि एमओयूमा हस्ताक्षर भएको मन्त्री भण्डारीका सचिवालयका सदस्य रञ्जित झा ‘निश्पक्ष’ ले जानकारी दिए।

द्विपक्षीय वार्तामा मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझदारीका आवश्यक्ता र प्रभावका विषयमा धारणा राखेका थिए।

रोमानीय पक्षले नेपाली कामदारको हक, हित र सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उल्लेख्य संख्यामा नेपाली कामदारको माग रहेको र पारदर्शी रूपमा कामदारको छनोट तथा छोटो अवधिमा कामदार ल्याउने प्रक्रियामा समन्वय र सहकार्य गर्ने व्यक्त गरेका थिए।

युरोपेली मुलुक रोमानिया नेपाली श्रमिकहरूका लागि आकर्षित र सुरक्षित गन्तव्यको रूपमा ठानिन्छ।

यो सम्झौतापछि नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष दुई देशबीच श्रम क्षेत्रमा थप समझदारी कायम भएको छ।

कामदारको सामाजिक सुरक्षाको हकमा रोमानीयामा कार्यरत कुनै पनि आप्रवासी कामदारले त्यहाँको नागरिक सरह सामाजिक सुरक्षा उपभोग गर्न पाउने व्यवस्था रहेको छ।

दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारी प्रभावकारी कार्यान्वयन गर्न समझदारी भएको छ।

त्यस्तै दोहोरो करार, आधारभूत अंग्रजी भाषाको ज्ञान तथा व्यवसायिक सिपजस्ता विषयहरूमा आपसी सम्बन्ध र सहकार्यबाट समाधान र व्यवस्थापन गर्ने सहमतिसमेत भएको छ।

द्विपक्षीय वार्ताको क्रममा नेपालमा छिट्टै रोमानीयाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानीयामा नेपाली श्रमिकहरूका लागि सम्भावित सिपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिना श्रमिकहरूलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहना रोमानीयाले प्रस्तुत गरेको छ।

 

Tags: