पहिरोमा पुरिएर बाग्लुङ र गुल्मीमा ११ जनाको मृत्यु
काठमाडौं- गुल्मी र बाग्लुङमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाग्लुङमा सात र गुल्मीमा चार जनाको मृत्यु भएको हो।
मंगलबार बिहान बडिगाड गाउँपालिका वडा नम्बर ९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा-१० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै आएको पहिरोमा पुरिँदा अन्य चार जना घाइते रहेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ। पहिरोमा पुरिएर मृत्यु भएकाहरूको विवरण आउन बाँकी छ।
यस्तै, गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ।
मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले दुई वटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे दुई वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परी सोही स्थानका ३१ वर्षीय विष्णु विक र उनकी श्रीमती २३ वर्षीय मुना विक घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ।