post-slider post-slider

एसिसी महिला प्रिमियर कप : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

Image
A A

काठमाडौं, फागुन १ - नेपालले माल्दिभ्समाथि फराकिलो जित हासिल गरेको छ।

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो।

नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको माल्दिभ्स १३.५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो।

यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो।

नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारि खेलेकी थिइन्। रुबिनाले टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउदै नयाँ कीर्तिमान बनाएकी छन्। यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन्।

त्यस्तै, पूजा महतोले अविजित ५९ रन बनाएकी थिइन्। रुबिना र पूजाले पाँचौं विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए। यो नेपालको महिला क्रिकेटमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मको उच्च साझेदारी हो।

त्यसैगरी यस खेलमा कविता कुँवरले १३, सीता राना मगरले १५ रन बनाएकी थिइन्।

यो जितपछि नेपाल समूह डी मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको छ। समूह डी बाट नेपालसँगै हङकङ दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ।

 

Tags: