post-slider post-slider

मेलम्चीको बाढीले विद्यालयको शौचालय र ठाउँ-ठाउँमा सडक अवरुद्ध

Image
A A

काठमाडौं- चार दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ। वर्षाका कारण मेलम्ची नदीमा बाढी आउँदा करिडोरमा क्षति पुगेको हो।

बाढीले सडक तथा खेतीयोग्य जमिन कटान गरेको छ। नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ। 

त्यस्तै  हेलम्बुमा रहेको एक विद्यालयसमेत जोखिममा परेको गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्। उनकाअनुसार हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय खोलामा परिणत भएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हो । प्रधानाध्यापक कुमार घोरासैनीले जोखिमका कारण आज विद्यालयमा पढाई बन्द गरिने बताए।

‘विद्यालयका फर्निचरलगायतका सामान सारिएको छ,’ उनले भनिन्। लगातारको वर्षाले बाढी नरोकिँदा व्यापारिक बजार ग्याल्थुम बजारसमेत जोखिममा रहेको उनले बताइन्।

ठाउँ–ठाउँमा बाढीले सडक कटान गरेका कारण यातायात अवरुद्ध बनेको स्थानीय श्याम चालिसेले जानकारी दिए। उनकाअनुसार मेलम्ची–हेलम्बु सडक खण्डअन्तर्गत सिम खेतमा सडक अवरुद्ध भएको छ। हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाले सडक खुलाउने प्रयास गरे पनि निरन्तरको वर्षाले कठिनाई भइरहेको हो।

Tags: