post-slider post-slider

माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्ने

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरिने भएको छ। तीन दिनसम्म बालुवाटारमा चलेको माओवादी पदाधिकारी बैठकले बैठकको लाइभ गर्ने विषयमा सहमति जुटाएका हो। 

एक वर्षपछि साउन १७ गते बुधबारदेखि सुरु हुनेगरि माओवादीको केन्द्रीय समितिको बैठक बस्न लागेको छ। बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि पाँच/पाँच मिनेटको समय दिइने निर्णय गरिएको छ। 

सचिव डिलाराम आचार्यका अनुसार २० वटा समूह बनाएर बैठकमा उठेका विषयमा छलफल गर्ने कुरा भएकोमा पछि सबै केन्द्रीय सदस्यलाई पाँच/पाँच मिनेटको समय दिएर आफ्नो प्रस्ताबहरू राख्ने समय दिने सहमति भएको छ।

कांग्रेसपछि माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ। बैठकमा प्रस्तुत हुने राजनीतिक दस्तावेजका लागि पदाधिकारीहरूले अध्यक्ष दाहाललाई लिखित तथा मौखिक सुझाव पेस गरेका छन्। 

बैठकको पहिलो दिनमै पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दस्तावेज प्रस्तुत गर्ने तालिका रहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको संगठन तथा भावी रणनीति बारे पार्टी अध्यक्ष दाहालबाट राजनीतिक दस्तावेज पेश हुने र त्यसैमा पाँच दिनसम्म छलफल गरेर निष्कर्ष निकालिने माओवादीका नेताहरूले जनाएका छन्।

माओवादी पदाधिकारी बैठकले मंसिरमा विधान अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। विधान अधिवेशन गर्ने एजेन्डालाई केन्द्रीय समितिको बैठकबाट पारित गराएर विधान अधिवेशनको समय तोकिने छ।

Tags: