post-slider post-slider

भारतमा बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

Image
A A

काठमाडौं- भारतको राजधानी नयाँदिल्लीसहित उत्तर पश्चिमी राज्यमा मुसलधारे वर्षासँगै गएको बाढी-पहिरोमा परी ज्यान गुमाउनेहरूको संख्या २८ पुगेको छ।

टाइम्स अफ इन्डियाका अनुसार  उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब,  जम्मु-कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दुई जना भारतीय सैनिक पनि छन्।

राजधानी नयाँदिल्ली आइतबार सन् १९८२ पछि जुलाई महिनामा २४ घन्टाभित्र सबैभन्दा धेरै पानी पारेको छ।

अत्याधिक वर्षाले दिल्लीका सडक डुबानमा परेका छन्। भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सोमबार दिल्ली र आसपासका क्षेत्रमा विद्यालय बन्द गरिएको छ।

उत्तराखण्ड प्रहरीले अत्यावश्यक नभइकन पहाडी क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ। उत्तराखण्डका केही क्षेत्रमा जुलाई १३ सम्म भारी वर्षाको चेतावनी दिइएको छ।

सामाजिक सञ्जालहरूमा बाढी र पहिरो बस्तीमा पसेका, सडक र  पुल बगाएका भिडिओहरू आइरहेका छन्। तीर्थ यात्रा र घुम्न गएका मानिसहरू विभिन्न ठाउँमा अलपत्र परेका छन्।

दिल्लीमा यमुना नदीले मंगलबार बिहानसम्म खतराको तह पार गर्न सक्ने चेतावनी दिइएको छ।

भारतीय मौसमविद्हरूले अहिलेको अवस्था सन् २०१३ मा उत्तराखण्डमा भएको ‘क्लाउडब्रस्ट’सँग तुलना गरेका छन्। बंगालको खाडीबाट आएको मनसुनी वायु र अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावले उत्तर पश्चिम भारतमा अहिले मुसलधारे वर्षा भएको हो।

Tags: