post-slider post-slider

स्वास्थ्यकर्मीका सबै संगठनलाई आन्दोलनमा सहभागी हुन चिकित्सक संघको आग्रह

Image
A A

काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीका सबै संगठनहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ।

चिकित्सकले उठाएका माग तत्काल सम्बोधन नभए सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरूलाई आन्दोलनमा सहभागी हुन संघले आग्रह गरेको हो।

चिकित्सकहरूका माग सम्बोधन गर्न माग गर्दै संघले स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल, संघर्ष समितिले अघि सारेका मागहरू तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको छ।

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ लाई लागु गर्न माग गरेको हो।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ लाई लागु गर्दै उठाइएका मागहरू तत्काल सम्बोधन नभए सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरूलाई यस कार्यक्रममा साथ दिन हार्दिक अपिल गर्दै थप आन्दोलनका कार्यक्रममा अझ सशक्त ढंगले सहभागी हुनसमेत अनुरोध गर्न चाहन्छौ,’ संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एकपछि अर्को गरी लगातार आक्रमण हुन थालेपछि चिकित्सकहरू केही दिनयता निरन्तर आन्दोलन गरिरहेका छन्।

हेटौंडाको सञ्चो अस्पतालमा दुई जना चिकित्सक कुटिएको घटना सेलाउन नपाउँदै पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि आक्रमण भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

 

Tags: