post-slider post-slider

‘महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र’ : सकार हुँदै दुई दशकअघिको एउटा परिकल्पना

Image
A A

काठमाडौं- मधेस प्रदेसको राजधानी जनकपुरधामको विभिन्न परिचयमध्ये एक हो–धार्मिक र सांस्कृतिक सहर।

प्राचिन मिथिलाको राजधानी जनकपुरधाम प्रायः हरेक दिन कुनै न कुनै धार्मिक अथवा सांस्कृतिक कार्यक्रमहरूको साक्षी बनेर बसिरहेको हुन्छ।

यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा जमघट पनि ठूलै हुँदो रहेछ। स्थानीयवासी आउने भइ नै हाले छिमेकी जिल्लाहरूबाट पनि मानिसहरूको ओइरो लाग्ने गरेको छ।

ठूलो जमघटलाई एकै ठाउँमा बस्न लगाएर सभा वा कार्यक्रम आयोजना गर्न त्यो बेला आधुनिक सभागृहको अभाव जनकपुरधामलाई खट्किइरहेको थियो।

अनि, एउटा परिकल्पना तयार भयो– सरकारकै आयस्रोतबाट जनकपुरधाममा ठूलो र आधुनिक सभागृह निर्माण गर्ने।

२०५७ सालमा प्रधानमन्त्री थिए नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई। भट्टराई नेतृत्वको सरकारबाट भएको निर्णयबमोजिम जनकपुरधाममा स्वर्गीय महेन्द्रनारायण निधिको स्मृतिमा मिथिला संस्कृति केन्द्र स्थापना गर्ने परिकल्पना तयार भयो।

करिब २.१५ बिघा क्षेत्रफलमा फैलिएको सांस्कृतिक केन्द्र परिसरभित्र पुस्तकालय भवन, संग्रहालय ब्लक, कम्पाउन्ड वाल, पार्किङ, सार्वजनिक शौचालय, क्यान्टिन ब्लक, दुई सय जना क्षमताको कन्फरेन्स हल र ६ सय जना क्षमताको सभा हललगायतका संरचना रहेका छन्।

केन्द्र परिसरभित्र रहेको सांस्कृतिक सभा हललाई सञ्चालनमा ल्याउनका लागि फिनिसिंग, कार्पेट, कुर्सी जडान, रंगरोगन, बत्ती जडानलगायत आवश्यक कार्यका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईमार्फत निर्माण कार्य सम्पन्न भइ सम्पूर्ण संरचना सञ्चालनयोग्य अवस्थामा आइसकेको छ।

हालसम्म केन्द्रभित्र विभिन्न संरचना निर्माणका लागि १२ करोड २४ लाख ७९ हजार ३४० रूपैयाँ (भ्याटबाहेक) खर्च भएको कार्यालयले जनाएको छ।

दुई दशकभन्दा अघि गरिएको त्यो परिकल्पना यतिबेला आएर पूर्णता पाउँदै छ। विभिन्न आरोह र अवरोहहरू पार गर्दै शिलान्यास भएको लगभग २३ वर्षपछि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ पूर्ण आकार लिइ अहिले ठडिएको छ।

र, यो संस्कृति केन्द्र ८ असोजमा देशका राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दनको साक्षी बन्ने तरखरमा छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलोपटक राजधानी बाहिर जाँदैछन्।  राजधानीबाहिर आफ्नो पहिलो भ्रमण उनले जनकपुरधामबाटै सुरू गर्ने निधो गरेका छन्।

जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा गरेपछि राष्ट्रपति पौडेल वडा नम्बर ४ को ‘तिरहुतिया गाछी’ स्थित ‘महेन्द्रनारायण मिथिला सांस्कृतिक केन्द्र’ पुग्ने छन्।

पौडेलको ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ को उदघाटन गर्ने कार्यक्रम छ। र, त्यही सभागृहमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुवासीका तर्फबाट उनको नागरिक अभिनन्दन गर्ने तय भएको छ।

तीन दिनअघि उपमहानगरपालिकाले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले राष्ट्रपति पौडेलले सांस्कृतिक केन्द्रको उदघाटन गर्ने तथा त्यही हलमा उनको नागरिक अभिनन्दन गर्ने निर्णय गरेको थियो।

‘महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र’ निर्माणका लागि नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले निरन्तर चासो लिइरहे।

उपप्रधान तथा गृहमन्त्री छँदा र त्यसपछि पनि उनले भवन निर्माण सम्पन्न गर्न सरोकारवाला निकायलाई सँधै दबाब दिइरहेका थिए।

राष्ट्रपति पौडेलले ‘महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र’ उदघाटन गर्ने भएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता निधि शनिबार नै जनकपुरधाम पुगिसकेका छन्।

संस्कृतिक केन्द्र पुगेर उनले राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन कार्यक्रमका साथै उदघाटन कार्यक्रमबारे जानकारी लिएका छन्।

निर्माणमा सरोकारवालाको ढिलाइ

जिल्ला प्रहरी कार्यालय धनुषाको ठीक दक्षिणतर्फ रहेको ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ निर्माणका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले २०६५ अषाढ ३० गते ७ करोड २४ लाख ६८ हजार ८८९ को ठेक्का लगायो।

ठेक्का पाउने निर्माण कम्पनी थियो– कालिका रमण जेभी। ६ मानिस बस्नसक्ने सिट क्षमता भएको सभाहल तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा भए पनि पूर्णता पाउन दुई दशकबढी समय लाग्यो।

पटक–पटक सम्झौताको म्याद थप हुँदै अन्ततः ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ तयार भएको छ।

प्रहरीको वासस्थान

जनकपुरधामकै सबैभन्दा ठूलो सभाहलको रूपमा निर्माण थालिएको ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्र’ लाई नेपाल प्रहरीले वर्षौंसम्म ‘अनधिकृत’ रूपमा आफ्नो वासस्थानको रूपमा प्रयोग ग¥यो।

सामुन्ने रहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानहरूले भवनलाई वासस्थानको रूपमा प्रयोग गरे।

सुरूमा जिल्ला प्रहरी कार्यालयका जवानमात्र बस्दै आएको त्यो भवनमा पछिल्लो समय प्रदेस प्रहरीलेसमेत डेरा जमाए।

सरोकारवाला निकायले त्यहाँबाट प्रहरी हटाउन दबाबसमेत दिए। तर, जिल्ला प्रहरी कार्यालयले आफ्नो ब्यारेक बनाइसकेपछि मात्रै त्यहाँबाट प्रहरी हट्यो।

प्रहरीले वासस्थानका रूपमा प्रयोग गर्न थालेको कारण पनि भवन निर्माण सम्पन्न गर्न ढिलाइ भएको बताइएको थियो।

प्रहरीको वासस्थानबाहेक समय समयमा हुने निर्वाचनको लागि समेत ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्र’ को निर्माधीन भवनलाई प्रयोग गरिएको छ।

२०७० सालको संविधानसभा निर्वाचन तथा पछिल्लो निर्वाचनमा समेत निर्माधीन भवन प्रयोगमा ल्याइएको थियो।

भवन हस्तान्तरणबारे ‘अन्योलता’

निर्माण कार्य सम्पन्न भइसकेपछि भवन हस्तान्तरणको विषयबारे अझै अन्योलता देखिएको छ। निर्माणपछि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ स्थानीय तह वा प्रदेस कुन निकायलाई जिम्मा लगाउनेबारे अझै टुंगो लाग्न नसकेको हो।

कतिपयले सांस्कृतिक केन्द्रलाई स्थानीय तहको जिम्मा लगाउनुपर्ने तर्क गरेका छन् भने प्रदेस सरकारलाई हस्तान्तरण गर्नुपर्ने राय पनि आएको छ।

हस्तान्तरण गर्ने निकायको टुंगो नलाग्दासम्म तत्कालका लागि सांस्कृतिक केन्द्र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनुषाको मातहत नै रहने भएको छ।

इकाई कार्यालयका प्रमुख प्रदीप खनालले ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ अहिलेका लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयमातहत रहने कार्यालय प्रमुख प्रदीप खनालले बताए।

‘सभा हलमात्रै नभएर सांस्कृति केन्द्रसमेत स्थापना गर्ने कुरा छ। यसलाई कुन निकायको मातहत राख्ने भन्ने टुंगो लागि सकेको छैन। टुंगो नलाग्दासम्म सहरी विकास कार्यालयअन्तर्गत नै रहने भयो,’ खनालले भने,‘गठन आदेश बनाउने कुरा पनि उठेको छ। स्वायत्त निकाय नै बनाएर हस्तान्तरण गर्नुपर्ने रायहरू आएका छन्। चाँडै टुंगो लाग्ला।’

 

Tags: