post-slider post-slider

एसिया कप फाइनल : भारत र श्रीलंका भिड्दै

Image
A A

काठमाडौं- श्रीलंकामा जारी १६औं संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। फाइनलमा उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्।

भारत–श्रीलंकाबीचको खेल दिउँसो ३:१५ बजेदेखि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुनेछ। श्रीलंका लगातार दोस्रोपटक उपाधि जित्ने दाउमा छ। उसले गत संस्करणमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।

भारत आयोजक श्रीलंकालाई स्तब्ध पार्दै आठौँपटक एसिया कप उपाधि जित्ने रणनीतिमा छ। भारतले जारी प्रतियोगिताको सुपर फोरको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा गरेको थियो। उसले सुपर फोरको तीनमध्ये दुईमा जित र एक खेलमा हारको सामना गर्‍यो। 

भारतले पाकिस्तान र श्रीलंकालाई हराउँदै बंगलादेशसँग भने हार बेहोर्न पुग्यो। श्रीलंकाले पाकिस्तानविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको टिकट सुरक्षित गरेको थियो। 

एसिया कपमा भारत र श्रीलंकाबीचको हेड टु हेड नतिजा हेर्दा दुवै बराबरीको अवस्थामा छन्। अहिलेसम्म यी दुई टिमले एसिया कपमा २२ खेलमा एकअर्काको सामना गरेका छन्। जसमा भारत–श्रीलंकाले ११/११ खेल जितेका छन्। 

समग्र ओडिआई हेड टु हेडको कुरा गर्दा भने भारत अगाडि देखिन्छ। हालसम्म यी दुई टिमले १६६ ओडिआई खेलमा एकअर्काको प्रतिस्पर्धा गरेका छन्। जसमा भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ। 

११ खेल नतिजाविहीन हुँदा यी दुई टिमबीचको एक खेल भने टाइ भएको छ। 

भारतको सम्भावित प्लेइङ–११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटपिकर), इशान किशन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादव।  

श्रीलंकाको सम्भावित प्लेइङ–११ : कुसल परेरा, पाथुम निसान्का, कुसल मेन्डिस (विकेटपिकर), सदीरा समराविक्रमा, चरिथ असालान्का, धनन्जय डी सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेलालागे, कसुन रजिथा, दुशन हेमन्थ र माथीशा पाथिराना।  

Tags: