post-slider post-slider

‘भिपिएन’ बाट टिकटक चलाउन कति सुरक्षित?

Image
A A

काठमाडौं- सरकारले नेपालमा टिकटक बन्द गरेसँगै कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिपिएन प्रयोग गरेर टिकटक चलाउन सकिने बताइरहेका छन्।

सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिपिएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणासमेत गरेका छन्।

इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडियोहरू अपलोड गरिरहेको हुनाले नेपालमा भिपिएनको प्रयोग गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन्।

भिपिएन के हो?

भर्चुअल प्राइभेट नेटवर्क अर्थात भिपिएन विशेषः हामीले प्रयोग गर्ने उपकरण र अन्य कुनै कम्प्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो।

साधारणतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै हामी व्यापक इन्टरनेटको सञ्जालमा जोडिन्छौं।

भिपिएनले हामीलाई एउटा अर्को कम्प्युटरमार्फत इन्टरनेटको सञ्जालमा जोडिदिन्छ। त्यसो गर्दा हाम्रो परिचय गोप्य रहन्छ।

धेरैजसो भिपिएन कार्यालयमा मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइएका एप्लिकेसन हुन्। ती अहिले व्यक्तिगत रूपमा पनि प्रयोग हुने गरेका छन्।

तर, केही मानिसहरू इन्टरनेटको प्रयोगमा सरकारले लगाएको सेन्सरसिप वा प्रतिबन्ध छल्नका लागि पनि भिपिएन प्रयोग गर्छन्।

सरकारी प्रतिबन्ध छल्न भिपिएनले हाम्रो गतिविधि अर्को देशमा रहेको कम्प्युटर प्रणालीमार्फत देखाइदिन्छन्।

विशेषगरी अनलाइन चलचित्र हेर्न तथा विभिन्न एप प्रयोग गर्न धेरैले भिपिएन प्रयोग गर्ने गरेका छन्। चीनमा पनि भिपिएनको प्रयोग भएको पाइन्छ।

भिपिएनको पनि फरकफरक प्रकृति हुन्छन्। कुनैले डिएनएस (डोमेन नेम सिस्टम) परिवर्तन गरिदिन्छन् भने कुनै भिपिएनले प्रोक्सी सर्भर प्रयोग गर्छन्।

के भिपिएन सुरक्षित छ?

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का महासचिव तथा साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारी साधारणतया भिपिएन सुरक्षित नभए पनि यसलाई सुरक्षित बनाएर प्रयोग गर्न सकिने बताउँछन्।

उनका अनुसार सित्तैमा प्रयोग गर्न मिल्नेको तुलनामा पैसा तिरेर प्रयोग गर्न मिल्ने भिपिएनहरू सुरक्षित हुन्छन्।

भिपिएन प्रयोग गर्दा कस्तो जोखिम?

जानकारहरूका अनुसार कतिपय भिपिएनहरूले विभिन्न माध्यमबाट हाम्रो उपकरणमा स्पाइवेयर, माल्वेयरहरूलाई बाटो दिनसक्छन्। त्यसो हुँदा हाम्रो उपकरणमा भएका अन्य विवरण जोखिममा पर्न सक्छन्।

विशेषगरी भरपर्दो नमानिने भिपिएन प्रयोग गरिएका उपरकणमा रहेका अन्य सामाजिक सञ्जालका खाताहरू र बैंकिङ सूचनाहरू चोरीको जोखिम हुने जानकारहरू बताउँछन्।

‘हाम्रो टिकटक बन्द भयो भन्नेबित्तिकै अब ह्याकरहरूलाई भिपिएनको प्रयोग गरेर टिकटक चलाइरहेका हुन्छन् भन्ने थाहा भइसक्यो,’ अधिकारी भन्छन्,‘अब उनीहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेयरहरू पठाउँछन् र त्यसलाई क्लिक गर्नेबित्तिकै हाम्रो सूचनाहरू चोरी हुन्छ।’

कसैले फेसबुकमा भिपिएन प्रयोग गर्न सुझाव दिएका आधारमा मात्रै आफैंसँग यसबारे राम्रो ज्ञान नभइ प्रयोग गर्नु थप जोखिमपूर्ण हुने जानकारहरू बताउँछन्।

 

Tags: