post-slider post-slider

बालेन्द्रविरूद्धको अवहेलना मुद्दा आज पनि स्थगित

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरूद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा सोमबार पनि स्थगित भएको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।

यसअघि आइतबार पनि न्यायाधीश ढुंगानाकै इजलासमा परेको मुद्दा स्थगित भएको थियो।

अधिवक्ता वर्षाकुमार झाले गत शुक्रबार काठमाडौं महानगरका प्रमुख साहविरूद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन्।

उनको अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन्।

उच्च अदालत पाटनले जारी गरेको आदेश आफूले नमान्ने मेयर साहले सार्वजनिक रूपमै टिप्पणी गरेपछि अधिवक्ता झाले उनीविरूद्ध अदालतको मानहानिसम्बन्धी मुद्दा दर्ता गरेकी हुन्।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म सञ्चालनमा रोक नलगाउन महानगरविरूद्ध अन्तरिम आदेश जारी गरेको थियो।

उच्च अदालत पाटनले जारी गरेको आदेश आफूले नमान्ने बताएका थिए।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियम थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ साहले सामाजिक सञ्जालमा लेखेका थिए।

 

Tags: