post-slider post-slider

मधेस प्रदेसका शिक्षामन्त्री प्रहरीबाट कुटिए, विरोधका बीच उपेन्द्रले गरे शिलान्यास

Image
A A

जनकपुरधाम- मधेस प्रदेसका शिक्षा तथा संस्कृतिमन्त्री प्रहरीबाट कुटिएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने राजविराज–१३ स्थित विषहरियामा मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका मन्त्री यादवमाथि प्रहरीले लाठी प्रहार गरेको हो।

प्रहरीको लाठी प्रहारबाट मन्त्री यादवको टाउको फुटेको छ।

उनी जनमत पार्टीका तर्फबाट प्रदेस सरकारमा शिक्षा तथा संस्कृतिमन्त्री बनेका हुन्।

शिक्षामन्त्रीलाई समेत बेवास्ता गरी राखिएको शिलान्यास कार्यक्रमको जनमत पार्टीले विरोध गरेको छ।

शिक्षामन्त्रीको हैसियतमा आफू विश्वविद्यालयको सहउपकुलपति र सिनेटको अध्यक्ष छँदा पनि शिलान्यासबारे कुनै जानकारी नगराइएको भन्दै यादवले आपत्ति जनाएका थिए।

जसपा अध्यक्षबाट जबजरस्ती शिलान्यास गराए त्यसबाट उत्पन्न हुनसक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी उपकुलपति र रजिष्ट्रार हुने भन्दै उनले आइतबार साँझ विज्ञप्ति निकालेका थिए।

जसपा अध्यक्षबाट शिलान्यास कार्यक्रम नगराउन माग राख्दै विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाएका जनमतका कार्यकर्ताले आइतबार तालाबन्दी गरेका थिए।

ऐन कानुन मिचेर कृषि विश्वविद्यालयले विभिन्न गतिविधि अघि बढाएको तथा व्यापक भ्रष्टाचार गरेको जनमत पार्टीले आरोप लगाएको छ।

यता जनमत पार्टीको विरोधकाबीच जसपा अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालयको शिलान्यास गरेका छन्।

जनमत पार्टीका प्रदेस सांसद सतिश सिंहको नेतृत्वमा जनमत पार्टीका कार्यकर्ताहरू कार्यक्रमस्थल नजिक प्रदर्शन गरेका छन्।

सुरक्षाकर्मीले जनमतका कार्यकर्तालाई कार्यक्रमस्थलभन्दा दुई सय मिटर वरै रोकेका छन्।

जनमत पार्टीले मधेस प्रदेसका शिक्षामन्त्री, सांसदहरू सतिशकुमार सिंह, भाग्यश्री चौधरी, रञ्जु खंगलगायतमाथि प्रहरीले लाठी प्रहार गरेको आरोप लगाएको छ।

जसपा अध्यक्ष यादव भने सुरक्षा घेरामा कार्यक्रमस्थल पुगेका छन्।

जनमत पार्टी विरोधमा उत्रिएपछि कार्यक्रमस्थल एवं राजविराज क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

कृषि विश्वविद्यालयको शिलान्यास भएको राजविराज–१३ जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधिसभा निर्वाचित भएको क्षेत्र हो।

गत मंसिरमा भएको निर्वाचनमा राउतले यसै क्षेत्रबाट जसपा अध्यक्ष यादवलाई पराजित गरेका थिए।

 

Tags: