post-slider post-slider

क्रिकेट विश्वकप : दुई विश्व ‘च्याम्पियन’ भिड्दै

Image
A A

काठमाडौं- भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा बिहीबार दुई विश्वविजेता टिम भिड्दै छ।

बेंगलुरूको मैदानमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र पूर्वविश्व विजेता श्रीलंका एकअर्काविरूद्ध प्रतिस्पर्धामा उत्रिन लागेको हो।

जारी विश्वकपमा अहिलेसम्म भएका खेलमा दुवै विश्व च्याम्पियनहरू उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन्। जसका कारण इंग्ल्यान्ड र श्रीलंका दुवै टिमले सेमिफाइनलमा स्थान सुरक्षित गर्न संघर्ष गर्नुपर्ने देखिएको छ।

अंकतालिकाका उत्कृष्ट चार टिम सेमिफाइनलमा पुग्नेछन्। तर, अहिलेको स्थितिमा श्रीलंका सातौं स्थानमा रहँदा इंग्ल्यान्ड आठौं स्थानमा रहेको छ।

यो विश्वकपमा सबै टिमले ९–९ वटा म्याच खेल्नुपर्ने हुन्छ। जसमध्ये इंग्ल्यान्ड र श्रीलंकाले अहिलेसम्म ४–४ वटा खेल खेलेका छन्।

अहिलेसम्मका चार खेलमध्ये दुवै टिमले तीन म्याचमा हार बेहोर्नु परेको छ।

२१ अक्टोबरमा नेदरल्यान्ड्सविरूद्धको खेलमा श्रीलंका ५ विकेटले जित हासिल गर्दै २ अंक प्राप्त गरेको छ।

श्रीलंकालाई अस्ट्रेलिया, दक्षिण अफ्रिका र पाकिस्तानविरूद्धका खेलहरूमा हारको सामना गर्नुपरेको छ।

त्यस्तै इंग्ल्यान्डले पनि यो विश्वकपमा कमजोर ठानिएको बंगलादेशलाई मात्र पराजित गर्न सकेको छ।

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड विश्वकपमा मजबुत ठानिएका दक्षिण अफ्रिका र न्युजिल्यान्डसँगका साथै अफगानिस्तानसँग समेत पराजित भएको छ।

अफगानिस्तानविरूद्धको पराजयले इंग्ल्यान्डको मनोबल खसेको हुनसक्ने क्रिकेटका जानकारहरू बताउँछन्।

१५ अक्टुबरमा भएको खेलमा अफगानिस्तानले अघिल्लो विश्वकप विजेता इंग्ल्यान्डलाई ६९ रनको अन्तरले पराजित गरेको थियो।

सेमिफाइनलको सूचीसम्म पुग्न बाँकी रहेका सबै खेल जित्नैपर्ने दबाबमा दुवै टिम रहेका छन्।

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड जारी विश्वकपको अंकतालिकामा यतिबेला श्रीलंका, अफगानिस्तान, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र भारतभन्दा पछाडि रहेको छ।

बंगलादेशलाई मात्र पराजित गर्न सकेको इंग्ल्यान्डका लागि बाँकी रहेका सबै खेल जित्नुपर्ने बाध्यता रहेको छ।

बेंगलुरूमा श्रीलंकालाई हराएर इंग्ल्यान्डले आफ्नो अभियानलाई निरन्तरता दिने आशा राखेको छ।

 

Tags: