post-slider post-slider

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

Image
A A

काठमाडौँ - ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटिएको छ।

यी दुवै प्लाजा वडा नं. २२ मा छन्। आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन। पिपुल्स प्लाजाले नियमित तीन आर्थिक वर्षको कर तिरेको छैन। बहाल कर दुवैले तिरेका छैनन्। 

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण तथा अनुगमन टोलीले, कम्प्लेक्स सञ्चालकसँग कर सम्बन्धी विवरण माग यस्तो अवस्था देखिएको हो।

यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेश गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर वक्यौता तिर्न पत्र दियो। 

महानगरपालिकाको राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा ३ प्रकारका राजस्व अनुगमन टोलीहरुको व्यवस्था गरिएको छ। एउटा वडास्तरीय टोली छ।

यसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ। अर्को केन्द्रमा राजस्व विभागस्तरको टोली छ। यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा टोलीको व्यवस्था गरिएको छ। 

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले कम्प्लेक्स सञ्चालकहरुलाई, घर बहालमा लगाउँदा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारमा बुझाउनु पर्ने कानुनी व्यवस्था भएकोले यसै बमोजिम कर बुझाउन आग्रह गरे।  

अनुगमनका क्रममा बहाल सम्झौता, कर योग्य सम्पत्ति सम्बन्धी विवरण माग गरिएको थियो। आरबी कम्प्लेक्समा करि ३१५ व्यवसायी र पिपुल्स प्लाजामा करिब १६० व्यवसायी छन्।

महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बीचको सर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ।

यस बमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक-एकप्रति लिनु-दिनुपर्छ। एकप्रति वडामा बुझाउनुपर्छ।

अनुगमनका क्रममा यस व्यवस्थाको पालना पनि हेरिएको थियो।
 

Tags: