post-slider post-slider

तीन अनि तितोमाथिको मिठो

Image
A A

                                                             प्रकाशकीय 

तीन वर्ष बितेको छ, झिमिक्कै गर्न नपाईकन। 

आयोमेल डटकमले विश्वव्यापी कोरोना महामारीले आलसतालस खेलाइरहेका बेला आफ्नो पखेटा हालेको थियो। त्यो पखेटाले भरेको उडानमा निरन्तर मौसमी गडबडी आइ नै रहेको छ। कोभिडका तीन भेरियन्टका सकस, त्यसपछि त्योभन्दा बढी चर्को आर्थिक मन्दिबीचको यो निरन्तरता आफैंमा जीवन्तता हो, एउटा कमाइ हो।

आयोमेल डटकमले अनलाइन सन्चार माध्यमको व्यापकतालाई सकरात्मक सन्चार विकासको आयामको रुपमा हेर्छ। यसलाई संख्यात्मक ढाँचाका कारण आलोचना गर्नेहरुको पनि कमी छैन। सामाजिक सन्जाल, विषयवद्ध एप्लिकेसन र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को दबदबाको अकन्टक प्रभावबीच संख्याको मुद्दा गौण हो। 

खास मुद्दा चाहिँ पाठ्य (श्रव्यदृख्यसहित) सामग्री (कन्टेन्ट) नै हो। कन्टेटको मामिला परम्परागत सम्पादकीय मण्डलको निश्चित विवेक र हठबाट निर्देशित हुने दिनहरु अब विगतमा सीमित भइसके। यथार्थमा अहिले सम्पादकहरुको अस्तित्व संकटमा परिसकेको छ। अब आममनोविज्ञानलाई केन्द्रमा राखेर कन्टेन्ट पर्गेल्ने र त्यसलाई व्यापकतमा प्रसार गर्ने संग्रहाध्यक्ष (क्युरेटर) हरुको प्रधान भूमिका हुने दिन आइसक्यो।

यही मेलोमा परम्परागत रिपोर्टिङको अस्तित्व पनि धरापै परिसक्यो। कुनै रिपोर्टरले नयाँ अपडेट दिन्छु भन्नु धृष्टता सावित हुनसक्छ। मिडियाले यति कुरो बुझे नबुझेको प्रसंग यहाँ वर्णनीय होइन। अब मिडियासँग ‘एक्सक्लुसिभ’ समाचारबाहेक बाँच्न सहयोग गर्ने अर्को कुनै उपाय छैन। यसमा चैं हाम्रो संख्यात्मक ढाँचा चुकेको छ।

हामीले बितेको तीन वर्षमा कपडछान गरी बुझेको तथ्य यति हो कि मिडियाले अपडेटको कचकच मात्र गर्नु समय र सामथ्र्यको नोक्सानी मात्र हो। यही बुझाइअनुसार हामी आफ्नो धैर्यशाली यात्रामा निरन्तर छौं। चौंथो वर्षभित्रै डिजिटल सन्चारलाई नयाँ आयाममा प्रविष्ट गर्ने शान्त तयारीमा हामी छौं। 

अबिराम र अविचल यात्रामा हामीले अभिव्यक्ति स्वतन्त्रता र जवाफदेही लोकतन्त्रलाई मूलमन्त्र मानेका छौं। राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्ने चरित्रका कारण बेला बेला प्रशंसा पाउनु नै ठूलो उपलब्धि हो।

समयानुकुल स्रोत व्यवस्थापनका कमजोरीसँग लड्नुमा हामीलाई कुनै विस्मात छैन। किनकी हाम्रा सबै गराई–कमाई हर समय कन्टेन्टकै लागि हो। छरितो तर शतप्रतिशत प्रतिवद्ध टिमले हाम्रो यो विरासतलाई दीर्घकालीन निरन्तरतामा लाने नै छ।

यात्राका सबै प्रेमिल पात्रहरुलाई नमन! 

सुन्दर खनाल
अध्यक्ष 

 

Tags: