post-slider post-slider

केदार कार्कीले पाए विश्वासको मत

Image
A A

काठमाडौं- कोसी प्रदेसको मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्।

बुधबार प्रदेससभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन्।

कोसी प्रदेसकी उपसभामुख सृजना दनुवारले कार्कीले प्रस्तुत गरेको प्रस्तावको पक्षमा ८६ मत खसेको छ।

यो मत कोसी प्रदेससभाको कुल संख्याको बहुमत भएकाले मुख्यमन्त्री कार्कीले प्रदेससभाबाट विश्वासको मत पाएको दनुवारले जानकारी दिइन्।

मत विभाजनका क्रममा कुल ९१ मत खसेकोमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ मत खसेको छ भने विपक्षमा ५ मत परेको छ।

कार्कीलाई नेकपा एमालेको ३९, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसदले मत हालेका छन्।

राप्रपाका ५ जना सांसदले भने विपक्षमा मतदान गरेका छन्।

सत्तारुढ गठबन्धनको निर्णयविपरित विद्रोह गरेर मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीलाई गठबन्धनसहित एमालेले पनि विश्वासको मत दिएको छ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की कोसी प्रदेसको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यसबीचमा भएको राजनीतिक खिचातानीका कारण मध्यावधिको बाटोतर्फ अघि बढिरहेको कोसी प्रदेसको राजनीति कार्कीले विश्वासको मत पाएसँगै तत्कालका लागि रोकिएको छ।

 

Tags: