post-slider post-slider

विपिन जोशीको खोजी गरिदिन नेपालले गर्‍यो कतारलाई आग्रह

Image
A A

काठमाडौं- इजरायलमा गत असोज २० गते हमासले गरेको आक्रमणका बेला बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सशस्त्र समूह हमासकै नियन्त्रणमा हुनसक्ने बताइएपछि नेपाल सरकारले उनलाई रिहा गराउन पहल सुरू गरेको छ।

हमासको आक्रमणमा परी दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।

मृतकहरू सबैको पहिचान भइसकेको र त्यसमध्ये केही शवहरू नेपाल ल्याइसकिएको छ।

हमासको नियन्त्रणमा रहेको ठानिएकाले जोशीलाई छुटाउन पहल गरिदिन नेपालले कतार सरकारलाई आग्रह गरेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।

कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकालले जोशी हमासको नियन्त्रणमा रहेको खबर आएपछि आफूहरूले त्यहाँको विदेश मन्त्रालयलाई उनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको बताएका छन्।

ढकालका अनुसार गत साता कतारको विदेश मन्त्रालयलाई त्यस्तो आग्रह गरिएको हो।

कतार सरकारले पनि नेपाली नागरिकको रिहाइका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको उनको भनाइ छ।

हमाससँग कुराकानी गरेर कतारले केही पश्चिमी देशका नागरिकहरूलाई मुक्त गराएको थियो।

त्यस्तै पहल नेपाली नागरिकका लागि पनि कतारले गरिदिओस् भन्ने आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताएका छन्।

हमासले इजरायलमाथि आक्रमण गर्दा २४० भन्दा बढी मानिसहरूलाई आफ्नो नियन्त्रणमा लिएर गएका थिए।

त्यसमध्ये अधिकांश इजरायली नागरिक रहेको र केही विदेशी पनि भएको बताइएको थियो।

यसै साताको सुरूमा इजरायलले स्थल कारबाही सुरू गरेपछि हमाससँग मध्यस्थता गरेर उनीहरूको नियन्त्रणमा रहेका मानिसहरू छुटाउने प्रयास कठिन बनेको कतारले बताएको थियो।

थाइल्यान्डले भने हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिक छुटाउन सिधै हमाससँग संवाद गर्ने बताइएको छ।

हमासको आक्रमणपछि हराइरहेका जोशी सुदूरपश्चिम प्रदेसको कञ्चनपुरका हुन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जोशीको रिहाइका लागि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत कुरा गरेर उनको उद्धार गर्न सकिने सम्भावना औँल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहुन्छु,’ शर्माले भनेका थिए।

 

Tags: