post-slider post-slider

गठबन्धन भत्काउने षडयन्त्र विफल भयो : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा विभाजन ल्याउने षडयन्त्र असफल भएको बताएका छन्।

भरतपुर महानगरमा निर्माण भएका तीनवटा छुट्टाछुट्टै खानेपानी आयोजनको आइतबार उदघाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

देशमा समाजवादको आधार तयार गर्दागर्दै केहीलाई छटपटाहट भएर वर्तमान सत्ता गठबन्धन भत्काउन खाजे पनि त्यो प्रयास विफल भएको उनले बताए।

‘देशभित्र र देशबाहिर रहेका नेपालीको हितमा काम गर्दा केही थरीलाई तनाव भएको छ। गठबन्धनमा विभाजन ल्याउन सकिन्छ कि भनेर लागेका छन्, तर त्यो षडयन्त्र असफल भएको छ,’ कोसी प्रदेसको राजनीतितर्फ संकेत गर्दै प्रचण्डले भने,‘हामीले राष्ट्र र जनताका पक्षमा काम गर्दैै जाँदा यस्ता षडयन्त्रहरू आफैं विफल हुँदै जानेछन्।’

उनले सुशासनका पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको दाबी गरे।

‘देशमा सुशासन कायम गराउने कुरा होस् वा सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा होस् यो सरकार बन्दै गर्दा गरिएको कमिटमेन्ट अहिले पूरा हुँदैछ। अहिले देशमा धेरै क्षेत्रमा धेरै कुरामा सुधार भएको छ,’ प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका लाखौं नेपालीहरूको नागरिकता र मतदानको समस्या समधान गर्न सरकारले पहल गरिरहेको जानकारी दिए।

‘विदेशमा रहेका नेपालीहरूको नागरिकताको समस्या समाधान गर्न, उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न पनि यो सरकारले पहल अगाडि बढाएको छ,’ उनले भने,‘देश बाहिर बसोबास गर्नेको मात्रै हैन देशभित्रै रहेका नागरिकताको समस्या समाधानका लागि पनि यो सरकारले काम गरेको छ। यसलाई नेपाली जनताले राम्रैसँग नियालेका छन्।’

 

Tags: