post-slider post-slider

विश्वमै पहिलोपटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

Image
A A

काठमाडौं- अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ।

यो विधिबाट विश्वमै पहिलोपटक मृत्युदण्ड दिइएको हो।

यसअघि अमेरिकाको सर्वोच्च अदालतले ती बन्दीले आफूलाई पहिलोपटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागिएको हुँदा त्यसलाई रोक्न गरेको निवेदन अस्वीकार गरिदिएको थियो।

केनेथ युजिन स्मिथका वकिलहरूले त्यसलाई ‘क्रूर र अस्वाभिक’ सजाय भन्दै रोक्न गरेको निवेदन न्यायाधीशहरूले दुईपटक अस्वीकार गरेका थिए।

विपक्षीहरूले नाइट्रोजन ग्यासले अनावश्यक यातना हुने र यदि त्यो चुहिएमा छेउछाउमा उपस्थित मानिसहरूलाई हानि पुग्ने तर्क गर्दै आएका थिए।

मृत्युदण्डको साक्षी बनाउन सञ्चारमाध्यमका पाँच जनालाई गाडी चढाएर एट्मोरस्थित होल्मन करेक्सनल फ्यासिलिटीमा लगिएको थियो।

साक्षीहरूका अनुसार मृत्युदण्ड दिन लाग्दा स्मिथले ‘आज राति एलबामाले मानवतालाई एक कदम पछाडि सारिदिनेछ’ भने।

मास्कभित्र नाइट्रोजन ग्यास छिर्न थालेपछि स्मिथ हाँसेको र आफ्ना परिवारजनप्रति माया देखाउन अलिकति निहुरिएको बताइएको छ।

साक्षीहरूले स्मिथ दुईदेखि चार मिनेट छटपटाएको र पाँच मिनेट छिटोछिटो सास फेरेको बताए।

स्थानीय समयअनुसार बिहीबार राति ८ः२५ बजे उनलाई मृत घोषित गरियो।

५८ वर्षीय स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।

उनलाई एलाबामा राज्यले तोकेको मृत्यदण्डको अवधि स्थानीय समयअनुसार शुक्रबार सकिन लागेको थियो।

सन् १९९६ देखि मृत्युदण्ड कुरिरहेका स्मिथले यो पर्खाइलाई यातनापूर्ण बताएका थिए।

अमेरिकामा मात्रै नभइ संसारभरिमै नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना हो।

मिसावटरहित नाइट्रोजन सुँघ्दा शरीरका कोषहरू क्षतिग्रस्त हुन्छन् र मानिसको मृत्यु हुन्छ।(बिबिसीबाट)

 

Tags: