.png)

मलेसियामा हट्यो अनिवार्य मृत्युदण्डको नीति

काठमाडौं- मलेसियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय मंगलबारबाट कार्यान्वयनमा आएको छ।
हत्या र आतंकवादजस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने मलेसियाका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
असाधारण घटनाहरूमा भने मृत्यदण्डको सजाय सुनाउने अधिकार न्यायाधीशहरूसँग कायमै रहने छ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलका अनुसार मलेसियामा मृत्युदण्डको सजाय सुनाइएकाहरूको संख्या झन्डे १३ सय रहेको छ।
सन् २०१८ यता भने त्याँ मृत्युदण्ड कार्यान्वयन गरिएको छैन।
गत अप्रिलमा संसदले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको थियो।
मलेसियामा पछिल्लो तीन दशकमा १३ सयभन्दा बढी दोषीलाई फाँसी दिइएको छ।
मलेसिया नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येमा पर्छ।
गत अप्रिलमा संसदलाई सम्बोधन गर्ने क्रममा त्यहाँका उपकाननुनमन्त्रीले मृत्युदण्ड अपरिवर्तनीय रहे पनि यसले अपराधलाई निरूत्साहित नगरेको बताएका थिए।
मलेसियाको संसदले पारित गरेको नयाँ कानुनले यसअघि नै मृत्युदण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी मानिसहरूलाई पनि ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समय दिने बताइएको छ।
मलेसियामा हाल १ हजार ३४१ कैदीहरू छन्।
मलेसियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिइन्छ। तीमध्ये अप्रिल महिनाको ३ तारिखअघि ११ वटामा अनिवार्य मृत्युदण्ड दिइन्थ्यो।
विद्यमान मृत्युदण्डको कानुनी व्यवस्था उल्टाउने प्रक्रिया गत जुनमा सुरू भएको थियो।
पूर्वप्रधानमन्त्री इस्माइल साब्री यकोब नेतृत्वको सरकारले अनिवार्य मृत्युदण्डकोे सजाय हटाउने घोषणा गरेको थियो।
मृत्युदण्डको अन्त्यका लागि दुईवटा विधेयक मार्चको अन्तिम साता संसदमा दर्ता गरिएका थिए।
यसअघि पछिल्ला वर्षहरूमा मृत्युदण्डको सजाय दिइने ५३ देशहरूमा मलेसिया पनि पथ्र्यो।
यो क्षेत्रमा चीन र सिंगापुरमा पनि मृत्युदण्डको सजाय दिने काननु छ।
मलेसियाको सरकारी तथ्याङ्कअनुसार त्यहाँ सन् १९९२ देखि २०२३ को बीचमा करिब १ हजार ३१८ कैदीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको छ।
यसअघि मलेसियामा नेपालीहरूलाई पनि मृत्युदण्डको सजाय दिने फैसला भएका थिए।
कतिपय त्यस्ता खाले फैसलामा पुनरावेदन हुँदा मृत्युदण्ड नदिन आदेश पनि आएको थियो।
अधिकारीहरूका अनुसार सन् २००८ मा विदेश जाने कामदारहरूको तथ्याङ्क राख्न थालिएयता मलेसिया नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यको रूपमा रहेको देखिन्छ।
झन्डै १५० वटा देशमा नेपाली कामदारहरू पुगेको भए पनि ८० प्रतिशतभन्दा बढी नेपाली कामदार खाडीका ६ देश र मलेसियामा काम गर्न जाने गर्छन्।
श्रम तथा वैदेशिक रोजगार मन्त्रालयका अनुसार मलेसियामा काम गर्ने नेपाली श्रमिकहरूको संख्या चार लाखको हाराहारीमा छ।
मलेसियाले भने यो संख्या तीन लाखकको आसपास रहेको बताउने गरेको छ।