post-slider post-slider

तीन दिनमा उपत्यकाबाट १ लाख ५० बढी बाहिरिए

Image
A A

काठमाडौं- नेपालीहरूको महान पर्व दसैं मनाउन तीन दिनमा १ लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि दसैं मनाउन उनीहरू घर जान थालेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा १ लाख ५० हजार ९ सय यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिएका छन्।

उनका अनुसार असोज २७ गते ४७ हजार ६४३, असोज २८ गते ५१ हजार २७९ र सोमबार बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्।

ट्राफिक प्रहरीले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको तथ्यांक राख्दै आएको छ।

ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्र १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ।

त्यस्तै चाडपर्वमा यातायातको सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र १ हजार ८ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए।

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ।

नयाँ बसपार्कले सञ्चालन गरेको लोत्हसे बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए।

दसैंका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको उनको भनाइ छ।

सरकारले दसैंको यातायात व्यवस्थापनलाई सहज बनाउन असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रूट परमिट खुला गरिसकेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरू बाहिरिने अनुमान गरेको बताए।

 

Tags: