post-slider post-slider

कठिन अंकगणितका बीच सरकार गठनका लागि आह्वान

Image
A A

काठमाडौं- कोसी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन्।

उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ५ दिनको सयम दिएका हुन्।

प्रदेस प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा ‘संविधानको धारा १६८ को उपधारा (२) वा (३) मध्ये कुन अनुसार मुख्यमन्त्री नियुक्त गरी सरकार गठन गर्न राजनीतिक दलहरूलाई दाबी पेसका लािग आह्वान गर्ने विषयमा महान्यायाधिवक्तासँग प्रदेस प्रमुखले माग गरेको राय आइतबार प्राप्त भएपछि उपधारा २ अनुसार असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ’ उल्लेख छ।

संविधानको धारा १६८ को उपधारा (२) मा प्रदेससभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेससभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेससभाको सदस्यलाई प्रदेस प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

प्रदेस प्रमुखले सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरे पनि कुनै पनि गठबन्धन दललाई ४७ प्रदेस सांसदको समर्थन पुग्ने अवस्था छैन।

कोसी प्रदेसमा यतिबेला सरकार गठनका लागि जसपा र राप्रपा निर्णायक देखिएको छ।

कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनले जसपा वा राप्रपाको समर्थन जुटाउनसकेको अवस्थामा मात्रै सरकार गठनका लागि दाबी पेस गर्न सक्ने अवस्था सिर्जना हुन्छ।

९३ सदस्यीय प्रदेससभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित २९, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन्।

त्यस्तै नेकपा एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद रहेका छन्।

तर, जसपाले पहिचान पक्षधर आन्दोलनको सम्बोधन नहुन्जेल सरकार गठनको प्रक्रियामा भाग नलिने अडान लिएको छ। जसपाको यो अडानका कारण गठबन्धन दललाई बहुमतको संख्या ४७ पु¥याउन सकस परेको छ।

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेससभामा शुक्रबार एक मत नपुग्दा सरकार ढलेपछि गठबन्धन दल नयाँ सरकार बनाउने तयारीमा जुटेका छन।

तर, यसका लागि हालसम्म ४७ जना प्रदेस सांसदको समर्थन जुटनसक्ने वातावरण सिर्जना भइसकेको छैन।

सरकार गठनका लागि दाबी पेस गर्न नसक्न अवस्थामा मुख्यमन्त्रीको सिफारिसमा प्रदेससभा विघटन गरी ६ महिनाभित्र अर्को प्रदेससभाको निर्वाचन सम्पन्न हुनेगरी मिति तोक्ने संवैधानिक व्यवस्था छ।

कांग्रेस नेता उद्धव थापाले सरकार गठनका लागि आह्वान भइसकेकाले गठबन्धन दलभित्र सहमति गरेर दाबी पेस गर्ने बताए।

दाबी पेस गर्न नसक्ने अवस्था आएको खण्डमा प्रदेस मध्यावधि चुनावमा जाने विकल्प खुला रहेको उनको भनाइ छ।

 

Tags: