post-slider post-slider

जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको बताएका छन्।

मंगलबार राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समयतालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आएको फेरबदल, प्रकोप र विपदका वृद्धि र अतिशय घटनाका कारण बहुपक्षीय चुनौतीको सामना गर्नु परिरहेको बताए।

उच्च तापक्रम वृद्धिले हिमालका दुई तिहाइ हिमभण्डार पग्लिने अध्ययनहरूले देखाएको बताउँदै प्रचण्डले जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लिने र विष्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुख्खा खडेरी तथा तराई क्षेत्रमा बाढी पहिरोको रूपमा देखिएको जिकिर गरे।

हिमाल, पहाड र तराई मधेसमा बसोबास गर्ने गरीब, साना किसान, सीमान्तकृत आदिवासी, जनजाति, महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिकहरू जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

उनले विभिन्न मञ्चहरूमार्फत जलवायु परिवर्तनका चुनौती र अवसरहरूका बारेमा विश्व समुदायसँग निरन्तर संवाद गरिरहेको बताए।

 

Tags: